व्यवसाय प्रवर्दनका लागि राम्दी पुलको क्षमता बाधक



अमृत अर्याल, स्याङजा ।

राम्दी पुल तर्ने बित्तिकै …….लगायत राम्दी पुलसँग जोडेर १ दर्जन भन्दा बढी लोकगित गाईएका छन् । तर राम्दी पुल देख्दा राम्रो र आकर्षक भएपनि क्षमता भने कमजोर छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा र स्याङजा जिल्ला जोड्ने कालीगण्डकीमा अवस्थित राम्दी पुलको भारवहन क्षमता कम हुदाँ धेरै लोड बोक्ने ठूला ट्रकहरु चल्दैनन् ।

स्याङ्जा जिल्लामा आजभन्दा करिव ५० बर्ष अगाडि निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईएको सिद्धार्थ राजमार्गको कारण यस क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । तर स्याङ्जा र पाल्पा जिल्ला जोड्ने राम्दीस्थित कालीगण्डकीमा निर्माण गरिएको पुलको स्तरोन्नती समयानुकुल नहुँदा यस क्षेत्रको उद्योग र ब्यवसायमा प्रभाव परेको छ । राम्दीको पुलको भारवहन क्षमता कम भएकोले हेबी ट्रकहरु त्यहाँबाट आउन नपाउँदा माल ढुवानीमा भाडा महङ्गो पर्न गई उद्योगी ब्यवसायी एवम् उपभोक्ताहरुलाई समेत प्रभाव परेको व्यावसायीहरुको गुनासो छ ।

सिद्धार्थ राजमार्गको स्तरउन्नति भएमा यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा समेत उल्लेखनीय विकास हुने र पुलको क्षमता वृद्धिबाट हेबी ट्रकहरु सजिलै आवतजावत गर्न गराउन सकेमा विभिन्न खालका उद्योगहरु स्थापना गर्न सकिने वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँण बताउनुहुन्छ । उत्पादित वस्तुको बजारीकरणमा सहज हुने तथा आयातित वस्तुको मूल्य सस्तो पर्न गई उद्योगी ब्यवसायी तथा आम उपभोक्ताहरुलाई समेत फाईदा पुग्ने खाँणको ठहर छ ।

केही समय अगाडि तानसेन नगरपालिकामा सिद्धार्थ राजमार्गसँग जोडिएका विभिन्न पालिका प्रमुख/उपप्रमुखहरु एवम् विज्ञहरुको बैठक बसी सिद्धार्थ राजमार्ग एवम् राम्दीस्थित कालीगण्डकी पुलको स्तरवृद्धिका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएता पनि कार्यान्वयन नहुँदा समस्या भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो ।

स्याङजा जिल्ला पोखरा र बुटवल/भैरहवा जस्ता दुई ठूला शहरहरुको बीचमा भएका कारण उत्पादित वस्तुको बजारको सम्भावना राम्रो छ । यी दुई शहरमा बनेका अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आईसकेपछि त्यसबाट फाईदा लिनका लागि समेत राजमार्ग तथा पुलको स्तरउन्नति अपरिहार्य रहेको पौडेलको भनाई छ । यस क्षेत्रको उद्योग र ब्यापारको विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघ मार्फत पनि सरकारसँग पहल गर्न सकिने केन्द्रिय सदस्य पौडेल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्