‘जनताको अग्निपरीक्षाका लागि तयार छौं’ : मुख्यमन्त्री पौडेल



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो निर्वाचनबाट प्राप्त राजनीतिक स्थिरताको सन्देशसहित तीनै तहको सरकार राष्ट्रिय आकांक्षा पूरा गर्न क्रियाशील भइरहेकोमा देश समृद्धिको मूल एजेण्डाबाट राजनीतिक मुद्धाको उल्झनमा आइपुगेको बताउनुभएको छ ।

‘शहीदले राष्ट्रका लागि दिएको त्याग, बलिदान कसैका लागि सत्ताप्राप्त गर्ने भर्‍याङमात्र भएको हो कि भन्ने संशय उत्पन्न भएको छ,’ उहाँले थप्नुभयो–सत्ताका लागि थोरै पनि धैर्य गर्न नसक्ने, पद, प्रतिष्ठा, पैसाका लागि मरिहत्ते गर्ने, देश र जनताका लागि भन्दा पनि आफू र आफ्ना आफन्तका लागि राजनीति गर्ने प्रवृत्ति हावी हुँदै जानुले शहीदको बलिदानीको अवमूल्यन भएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो– ‘एकातिर विकास, समृद्धिको सपना र प्रतिवद्धता, अर्कोतिर पटकपटक अवसर पाइसकेकाको पुनः सत्तास्वार्थ र निजी महत्वाकांक्षा । एकातिर जनमतको विश्वास र भरोसा, अर्कोतर्फ सत्ताप्राप्तिका लागि अराजकता र अतिरञ्जना देखियो । ‘

उहाँले भन्नुभयो– ‘यस्ता कारण राजनीतिक स्थिरतामा कालो बादल मडारिँदै गर्दा पनि हामी निर्धक्क भएर भन्न सक्छौं कि प्रजातन्त्रमा जनता नै सार्वभौम हुन् । जनताले लिने जुनसुकै अग्निपरीक्षाका लागि राजनीतिक नेतृत्व तयार रहनुपर्छ । दलहरु जनतामा फर्किने, जनताको मत र विश्वास जितेर शासनसत्ताको बागडोर सम्हाल्ने र मुलतः जनताबीच परीक्षित हुने विषय नै लोकतन्त्रको सुन्दर पक्ष हो ।’

प्रजातन्त्रको मुलभूत मान्यताभित्र रहेर संघीय सरकारले ताजा जनादेशका लागि प्रतिनिधिसभाका लागि नयाँ निर्वाचनको घोषणा गरेको दाबी गर्दै उहाँले भन्नुभयो–प्रजातन्त्रलाई छाडातन्त्र, मनपरीतन्त्रका रुपमा ब्याख्या गर्दै देशलाई अराजकतातर्फ धकेल्ने प्रयास हुन थालेका छन् । प्रजातन्त्रको मुलमर्ममाथिको प्रहारले जनभावनामाथि कुठाराघात भएको छ । जनताबाट भागेर होइन, जनताबीच रहेरमात्र प्रजातन्त्ररलोकतन्त्रलाई मजबुत बनाउन सकिन्छ ।

उहाँले २००७ सालमा प्रजातन्त्र स्थापना भएपश्चात् पनि नेपालीले लामो समय प्रजातन्त्र र स्वतन्त्रता उपभोग गर्न नपाएको भन्दै यसका लागि पटकपटक संघर्ष गर्नुपरेको स्मरण गर्नुभयो । उहाँले एकतन्त्रीय जहाँनिया राणाशासन अन्त्य भएर देशमा प्रजातन्त्र वहाली भएको दिनको स्मरण गर्दै भन्नुभयो–आज हामी वंशविरासतमा आधारित कुनै व्यबस्थामा छैनौं । सार्वभौम जनताको मतबाट निर्वाचित जनताको प्रतिनिधिबाट शासनसत्ता सञ्चालन गरिने व्यबस्थामा छौं ।

प्रजातन्त्र स्थापनादेखि हालसम्म देशमा धेरै कुरा बदलिएर निर्दलीय पञ्चायती व्यबस्था, संवैधानिक राजतन्त्रसहित बहुदलीय व्यबस्था, निरंकुश राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको निकै चुनौतीपूर्ण यात्रापछि आगामी यात्रा झनै चुनौतीपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै संविधान कार्यान्वयन र नेपाली जनताको समृद्ध नेपाल–सुखी नेपालीको आकांक्षालाई साकार बनाउने म्याडेटसहित २०७४ माघ २९ गते प्रदेश सरकारगठन भएको भन्दै नेपालको इतिहासमा पहिलोपटक अस्तिवमा आएको प्रादेशिक संरचनालाई संविधानले निर्दिष्ट गरेको अधिकार र कर्तव्यको सीमाभित्र रहेर शून्य अबस्थाबाट हालसम्म आइपुग्दाको यात्रा सहज नभएको उहाँले अनुभव सुनाउनुभयो ।

‘एकातिर जनताको असिम अपेक्षा र अर्कोतिर आफ्नै राजनीतिक, प्रशासनिक, ऐनकानुन एवम् स्रोतसाधनको सीमितताबीच प्रदेश सरकार अघि बढेको थियो । तथापि, शून्य अबस्थाबाट प्रदेश सरकार गठन भएको तेस्रो वर्ष पूरा हुँदै गर्दा प्रदेश सरकारले गरेका कामहरु देखिन थालेका छन्,’ उहाँको दाबी थियो–अझै पनि अपेक्षा र यथार्थताको धरातलबाट उपलब्धिको लेखाजोखा गर्दा फरकपन भेटिएला तर हामीले कस्तो अबस्थाबाट कार्यारम्भ गरेका थियौं भन्ने स्मरण गर्दामात्र पनि प्राप्त उपलब्धिहरुप्रति गर्व गर्न सकिन्छ ।

भन्नुभयो–अनेकौं कार्यक्रमहरु घोषणामा सीमित होइन कि व्यबहारमा कार्यान्वयन भएर परिणाममा देखिन थालेका छन् । राजनीतिक परिवर्तनको उपलब्धिलाई जनताको जीवन र दैनिक व्यबहारमा अनुभूत गराउन प्रदेश सरकारले अथक प्रयास गर्दै आएको छ ।

‘मानिसका जीवन दिन प्रतिदिन सरल र सहज बन्दै गएका छन् । तर, हजारौं बालबालिका शिक्षाबाट बञ्चित हुने अबस्था, युवाहरु अवसरबञ्चित हुनुपर्ने तीतो विगतलाई बदल्नै पथ्र्यो । यो युग सुहाउँदो कुरा होइन,’ उहाँले पीडा पोख्नुभयो–प्रचुर सम्भावनाले भरिएर पनि अविकास र पछौटेपनको शिकार हुनपुग्यौं । राजनीतिक अस्थिरताको जगमा विकासले गति लिन सकेन । युगानुकूल शिक्षाको प्रवन्ध, रोजगारीका अवसर सिर्जना, पूर्वाधार विकास हुन नसक्दा युवाहरुमा नैराश्यता पैदा भयो । पाखुरीमा बल भरिएका युवाले आफ्नो पौरख यही देशको निर्माणमा सिञ्चित गर्ने अबस्था बनेन ।

उहाँले द्वन्द्व र राजनीतिक संक्रमणकालले युवा पलायनलाई मलजल प्रदान गर्ने क्रममा शिक्षित युवाको रोजाइ अस्ट्रेलिया, क्यानडा, श्रम र सिप भएका युवाहरुको रोजाइ मलेसिया, कतार जस्ता देश बन्न पुगेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्