पुनर्निर्माणमा ‘विश्वको आठौं आश्चर्य’



न्युज अफ नेपाल, हेटौंडा ।

नेपालको गौरवका रुपमा हेटौंडामा रहेको र विश्वमा चर्चित एक इतिहासकारले ‘विश्वको आठौं आश्चर्य’ को उपमा दिएको एसियाकै पहिलो चुरियामाई सुरुङ पुनर्निर्माणका लागि बागमती प्रदेश सरकारले रुचि देखाएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा–१७ मा पर्ने एतिहासिक सुरुङलाई कानुनअनुसार ‘स्मारक’ घोषणा गरेर संरक्षण गर्न आवाज उठिरहेको बेला यसका लागि बोलपत्र आह्वान गरिएको हो । पहिरोले एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटरमात्र बाँकी रहेर अस्तित्व नै नरहने अबस्थामा पुगेपछि प्रदेश सरकार तातिएको छ ।

राजमार्गको हेटौंडा–पथलैया सडकखण्डमा रहेको चुरे पर्वत शृंखलामा निर्मित पहिलो सुरुङमार्ग संरक्षण अभावमा इतिहास मेटिने खतरा देखिएपछि प्रदेश सरकारले चासो दिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब पाँच करोडको अधिकतम् सीमाभित्र सुरुङमार्ग पुनर्निर्माणसम्पन्न गर्नसक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको निर्देशनालय प्रमुख सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

तराईलाई देशका अन्य क्षेत्रसँग जोड्ने पूर्वपश्चिम राजमार्ग भएर चल्ने हजारौं सवारीसाधनका यात्रुहरुको खुल्दुली मेटाउँदै राजमार्गमा देख्न सकिने कंक्रिटनिर्मित ठूलो ढिक्का तथा मकवानपुर–बाराको सिमानामा पर्ने एतिहासिक चुरियामाईको मूल मन्दिरबारे सप्रमाण जानकारी सार्वजनिक गरिएको छ । जसको प्रभावका कारण प्रदेश सरकारले संरक्षण कार्य अगाडि बढाएको छ ।

सयौं सवारी र हजारौं यात्रु त्यही बाटो भएर दिनहुँ आहोरदोहोर गर्छन् । तर, उक्त कंक्रिटको ढिक्का र यससँग सम्बन्धित नेपालको इतिहास नेपालीलाई नै थाहा छैन । राजमार्गछेवैमा देख्नसकिने सुरुङको मुख मानिएको कंक्रिट ढिक्का र चुरियामाई मन्दिरमा ठूलो फ्लेक्स राखेर नगरपालिकाले यसबारे जानकारी दिदै आएको छ ।

सुरुङमार्ग निर्माण नगरिएको भए चुरे पहाडहुँदै काठमाडौं जोड्ने बाटो बनाउनु बाध्यता थियो । तर, त्यसो गर्नु भौगोलिक हिसाबले सम्भव थिएन । यसकारण सुरुङ खनेर तराईलाई काठमाडौंसम्म जोडिएको थियो ।

प्रदेश सरकारले सुरुङमार्ग पुनर्निर्माण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना अघि सारेको छ । सुरुङसँगै टोनी हेगन उद्यानलगायत संरचना निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले बताउनुभयो ।

नेपाललाई राम्ररी चिनेका र सबै जिल्लामा हिँडेर पुगेका स्वीस नागरिक हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङ्डम अफ नेपाल’ नामक पुस्तकमा सुरुङमार्गबारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भित्र्याउन नसकेको बेला नेपाल सफल भएकोमा खुशी व्यक्त गरिएको छ । उहाँले पुस्तकमा उक्त सुरुङलाई विश्वको ‘आठौं आश्चर्य’ का रुपमा उल्लेख गर्नुभएको छ ।

हेटौंडा र प्रदेशको गौरव चुरिया सुरुङलाई राष्ट्रिय सम्पदा घोषणा गर्न/गराउन खोज, अनुसन्धान र मेहनतको परिणामस्वरुप पुरात्व विभागबाट पुरातत्वविद् सुशील गौतमले चुरिया सुरुङ क्षेत्रको स्थलगत अवलोकन, नापजाँच, निर्मित वस्तुहरुको ऐतिहासिकता परीक्षण गर्नुभएको थियो ।

चुरियामाई सुरुङमार्ग जीर्णोद्धार गरी पर्यटन प्रवद्र्धन गरिने भएको छ । ऐतिहासिकस्थलको संरक्षण गरी पर्यटकीय क्षेत्रमा विकास गर्ने उद्धेश्यले बजेट व्यबस्था गरिएको छ । ओझेलमा परेका सम्पदा संरक्षण र सम्वद्र्धनमा प्रदेश सरकारको ध्यान आकृष्ट भएर नीति तथा कार्यक्रममार्फत् रकम विनियोजन गरिएको थियो ।

ऐतिहासिक सुरुङमार्ग हाल गुफामा परिणत भएको छ । सुरुङका दुवैतर्फ पाले घर निर्माण गरी गाडी आएको समयमा झण्डा हल्लाएर जनाउ दिने गरिएको तत्कालीन पाले वीरबहादुर भोलनका नाति रामकुमार भोलनले स्मरण गर्नुभयो ।

सन् १९१७ ताका बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम एतिहासिकस्थल भीमफेदीसँग जोड्ने सडक बनाउने बेला तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यस बेला नेपालीहरुको जनजीवनलाई निकै सहज बनाएको थियो ।

प्रदेश–२ को बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने सुरुङमार्ग १ सय ४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो । उक्त मार्गबाट २०२० सालसम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउँछन् ।

२०१८ तिर चुरियामाई सुरुङमार्ग हुँदै यात्रा गर्नुभएका प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अनुसार सुरुङमार्ग सञ्चालनताका भारतबाट बाराको अमलेखगञ्जसम्म रेलसमेत आउँथ्यो । रेल पछिसम्म चले पनि सुरुङ भने बन्द भयो ।

अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निकै गाह्रो थियो । ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसकिने, समय र इन्धनको खर्च बढी हुने भएपछि राणा सरकारले सुरुङलाई विकल्प मानेको थियो ।

नेपालका प्रथम ग्राजुएट सिभिल इञ्जिनियर ब्रिगेडियर जनरल डिल्लीजंग थापाको डिजाइनमा सुरुङ तयार भएको इतिहास छ । उहाँले राष्ट्रपति भवन शितलनिवास र पाँचखाल अड्डा र १९९० मा भुकम्पले भत्किएपछिको धरहराको पुनर्निर्माणका निम्ति डिजाइनिङ गर्नुभएको थियो । उहाँ जगतजंगका नाति हुनुहुन्थ्यो । जगतजंग, राणा प्रधानमन्त्री जंगबहादुरका नाति हुन् ।

प्रतिक्रिया दिनुहोस्