भद्रपुरमा मेयर कप टी २० हुने



भद्रपुर, (नेस)

जिल्लाकै सदरमुकाम भद्रपुर नगरपालिकामा पहिलोपटक मेयर कप नगरस्तरीय टी–ट्वान्टी लीग क्रिकेट प्रतियोगिता हुने भएको छ ।७१औं प्रजातन्त्र दिवसको अवसरमा मेची रङ्गशाला भद्रपुरमा यही फागुन ७ देखि १५गते सम्म प्रतियोगिता हुने भएको आयोजक समितिले जनाएको छ । झापा जिल्ला खेलकुद विकास समितिको कार्यालय भवनमा बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारीका बारेमा जानकारी गराइएको हो ।

प्रतियोगितामा विजेता टिमलाई नगद २० हजार र उपविजेता टिमलाई नगद १५ हजार नगदसहित ट्रफी प्रदान गरिने समितिका सदस्य राजन भट्टराईले जानकारी दिनुभयो । त्यस्तै, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटस्मेन, ‘म्याद अफ द म्याच, म्याद अफ द सिरिज हुने खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।प्रतियोगिताका लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने जनाएको छ । नगरका १० वटै वडा कार्यालयमा खेलाडीसहित टिम छनोटका लागि पत्राचारसहित खेल मैदान मर्मत–सम्भारको काम तीव्र गतिमा भइरहेको समितिका सदस्य तुलसी कार्कीले जानकारी दिनुभयो । प्रतियोगिता आइसिसीको नियम अनुसार खेलाइने र एक दिनमा दुईवटा खेल आयोजना गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले सङ्घीयता पश्चात् पहिलोपटक नगरमा मेयर कप क्रिकेट प्रतियोगिता हुन लागेको बताउनुभयो । जिल्लाकै एक मात्र मेची रङ्गशाला पछिल्लो समय ओझेलमा पर्दै गइरहेकोले यसलाई टिकाउन र बचाउन यस प्रतियोगिताले महत्वपुर्ण भू मिका खेल्ने उहाँको धारणा छ । नगरमा मेयर कप फुटबल, कबड्डी, एथलेटिक्स खेल लगायतको प्रतियोगिता पनि सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्