‘छलफलविना गरिएको निर्णय लागू हुन्न’



काठमाडौं, (नेस)

निजीक्षेत्रका अस्पतालले शुल्क बढाएको उद्घोष गरेको एकदिन बित्न नपाउँदै सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको भन्दै विरोध जनाएको छ ।नेपाल चिकित्सक संघ र एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)ले डाक्टरको परामर्श शुल्क बढाएको विषयमा बुधबार संयुक्तरुपमा विज्ञप्ति जारी गरी बुधबारदेखि नै लागू गर्ने जनाएको थियो ।

संयुक्त विज्ञप्तिमा सरकारसँग पनि छलफल गरी माघ ४ गते सहमति भएअनुरुप परामर्श शुल्क सार्वजनिक गरिएको उल्लेख गरिएको थियो । यता स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मलेन गर्दै छलफल नै नगरी गरिएको निर्णय लागू नहुने बताएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले माघ ४ मा मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी चिकित्सक संघ र अफिनले गरेको निर्णय लागू नहुने बताउनुभयो ।‘मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा मन्त्रालयसँग थप परामर्श नगरी शुल्क वृद्धि गर्न मिल्दैन र कुनै पनि अस्पतालमा लागू हुँदैन।’ –मन्त्री त्रिपाठीले भन्नुभयो ।त्यसैगरी मन्त्रालय निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक, अस्पतालको सेवा शुल्क र परामर्श शुल्कसमेत सापेक्षित परिमार्जन गर्न सरोकालवालासँग छलफलका लागि तयार रहेको मन्त्री त्रिपाठीले बताउनुभयो ।

नेपाल चिकित्सक संघ र अफिनले बुधबारदेखि लागू हुने गरी बिरामी चेकजाँच गर्दा परामर्श शुल्क शुल्क ३ सय ७० देखि ८ सय २५ सम्म निर्धारण गरेको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले छलफल नै नगरी बढाएको शुल्क मान्य नहुने भन्दै ध्यानाकर्षणपत्र जारी गर्दै यो निर्णय मन्त्रालयलाई मान्य हुँदैन भन्नुभयो ।यता नेपाल चिकित्सक संघ र अफिनले भने शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानी परामर्श शुल्क तोकेर फागुन ५ बाटै लागू गर्ने निर्णय गरेको अडान कायमै छ ।

प्रतिक्रिया दिनुहोस्