नागरिक समाजद्वारा ध्यानाकर्षणपत्र हस्तान्तरण



भक्तपुर, (नेस) ।

भक्तपुरस्थित नागरिक समाज सञ्जालले जिल्ला समन्वय समिति भक्तपुरका प्रमुखमार्फत जिल्लाका सम्पूर्ण नगरपालिकालाई विविध विषयमा ध्यानाकर्षण गराउँदै पत्र हस्तान्तरण गरेको छ ।जिल्लास्थित गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीका मन्त्री, भक्तपुर वारएसोसिएसनका सहसचिव, शिक्षक महासंघ, वाइएभी नेपाल र गैसस महासंघ भक्तपुरका प्रतिनिधिको टोलीले जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाललाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

प्रतिनिधिमण्डलका तर्फबाट गैसस महासंघ भक्तपुरका कार्यवाहक अध्यक्ष्य जयराम थापाले पढेर हस्तान्तरण गर्नुभएको थियो ।उक्त ध्यानाकर्षणपत्रमा भ्रष्टाचार नियन्त्रण, गुणस्तरीय शिक्षाको उपलब्धता, महामारी नियन्त्रणमा स्थानीय सरकारले खेल्नुपर्ने भूमका, स्थानीय नीति निर्माण तथा योजना तर्जुमामा नागरिक सहभागिताको सुनिश्चिततालगायतका विषयवस्तु समावेश गरिएको छ ।

साथै स्वस्थ खानेपानी वितरणमा सहजता, फोहोर मैला व्यवस्थापन प्रणालीको विकास, तरकारी र अन्य बालीमा प्रयोग गरिने किटनाशक तथा विषादी नियन्त्रण साथै समयमा नै वैज्ञानिक परीक्षणबाट सिद्ध भएका बिउबिजन वितरणलगायतका विषयहरु समेटी ध्यानाकृष्ट गर्ने ध्येयले ध्यानाकर्षणपत्र हस्तानरण गरिएको थियो ।ध्यानाकर्षणपत्र बुझ्दै जिल्ला समन्वय समिति प्रमुख गेलालले सो ध्यानाकर्षणपत्र आवश्यक कार्यान्वयनका लागि सम्पूर्ण नगरपालिकामा पठाउने र आगामी दिनमा जिल्ला समन्वय समितिमार्फत हुने सम्पूर्ण अनुगमनका कार्यमा नागरिक समाजको सहभागिता सुनिश्चितता गराउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्