रानीतलाउ फेरि उस्तै !



कुमार श्रेष्ठ, बाँके।

तामझामका साथ रानीतलाउको दोस्रोपटक उद्घाटन भयो   ३५ लाख रुपियाँ खर्च गरेर दोस्रोपटक उद्घाटन भएपछि रानीतलाउको सौन्दर्यको धेरै चर्चा भयो । नेपालगञ्जको पर्यटकीयस्थलका रूपमा परिचित रानीतलाउ अब झकिझकाउ भयो भन्ने धेरैलाई लाग्यो ।दुर्भाग्य, डेढ वर्षमा रानीतलाउ फेरि उस्तै बाटोमा लम्केको छ । बोटिङ बन्द भएको छ । सरसरफाइमा कमी आएको छ । पर्यटकको घुइँचो हुने रानीतलाउ सुनसान भएको छ । नेपालगन्जको पर्यटकीय क्षेत्र मानिएको रानीतलाउ फेरि उस्तै गतिमा लम्किएको हो ।

सौन्दर्यकरण गर्नका लागि रानीतलाउमा धेरै पैसा लगानी गरियो । पैसा खन्याएर मात्रै हुँदोरहेनछ भन्ने देखिँदै आएको छ । रानीतलाउलाई झकिझकाउ बनाएर वार्षिक १८ लाखमा ठेक्का दिइएको थियो । केही महिनादेखि ठेकेदारले हात उठाएका छन् ।ठेकेदारले छोड्दा चारवटा डुंगा कामै नलाग्ने अवस्थामा रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका र वडा नं. ८ ले अहिले एक–एक जना कर्मचारी खटाएर रानीतलाउ सञ्चालनमा ल्याएको छ ।२०७६ असार १५ गते सौन्दर्यीकरण भएपछि रानीतलाउको उद्घाटन गरियो । त्यसपछि वडा नं. ८ ले करिव चार महिना रानीतलाउ सञ्चालन ग¥यो । वडाध्यक्ष सुरेन्द्र वैश्य गुप्ताका अनुुसार यो अवधिमा ६ लाख रुपियाँ कमाइ भयो । शुरुआतमा मान्छेको भीड नै लाग्यो । लामो समयपछि बोटिङ सञ्चालनमा आएपछि मान्छे ओइरिए । करिव चार महिनामा ६ लाख रुपियाँ कमाइ भएको देखेका ठेकेदारहरुले बढाबढ गरेर बोले ।

१० लाखबाट शुरु भएको ठेक्का कबोल १८ लाख रुपियाँमा गएर अडियो । यो बीचमा चैतदेखि कोरोना कहर शुरु भयो । वडाध्यक्ष गुप्ताले कोरोना कहरको बेलाका लागि छुटको व्यवस्था गर्ने भन्दाभन्दै ठेकेदारले छोडेर गएको बताउनुभयो ।अब के हुन्छ भन्ने प्रश्नमा वडाध्यक्ष गुप्ता भन्नुहुन्छ– ‘फेरि ठेक्का दिने तयारी भइरहेको छ । उपमहानगरपालिकाले ठेक्काबाटै चलाउने भनेको छ ।’ वडाध्यक्ष गुप्ता पर्यटकीयस्थल भएकाले सकेसम्म आफैं सञ्चालन गर्दा राम्रो हुने धारणा राख्नुहुन्छ ।माघ ४ गतेदेखि उपमहानगरपालिका र वडाबाट एक–एक जना कर्मचारी खटिएर रानीतलाउ खोलिएको छ । बोटिङ गर्ने सुविधा नरहेकाले पर्यटकको बाक्लो उपस्थिति देखिएको छैन । रानीतलाउमा खटिएका कर्मचारी सुदेश केसीले वसन्त पञ्चमीका सबैभन्दा धेरै मानिस आएको बताउनुभयो । त्यो दिन ४ सय मानिस रानीतलाउमा घुम्न आएका थिए । बिहीबार २ सय हाराहारीमा मानिस आएका थिए । अरू दिन २०÷३० जना आएको केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्