नापतौलमा व्यापारीलाई घाटा



मिला दरै, तनहुँ ।

दमौलीका व्यावसायीको ढक, डिजिटल काँटाको नापतौल परीक्षण गर्दा व्यापारीलाई घाटा भएको देखिएको छ । गुणस्तर तथा नापतौल कार्यालय पोखराले बिहीबार व्यापारीले प्रयोग गर्दै आएका ढक, डिजिटल काँटाको नापतौलमा एकरूपता ल्याउने उद्देश्यले परीक्षण गर्दा सो कुरा पत्ता लागेको हो ।

डिजिटल काँटाको नापतौल परीक्षणको क्रममा ३ सय ग्राम बढी दिएको पाइएको थियो । व्यवसायी र उपभोक्तामध्ये एक जना ठगिन सक्ने सम्भाव्यतालाई न्यूनीकरण गर्न गुणस्तर तथा नापतौल कार्यालय पोखराले नापतौलका सामग्रीको परीक्षण तनहुँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वैकुण्ठनाथ मिश्रले जानकारी दिनुभयो । तनहुँ उद्योग वाणिज्य संघ र दमौली बजार एकाइको सहकार्यमा नापतौल परीक्षण गरिएको थियो ।दमौलीका १ सय १८ व्यापारीको नापतौलका सामग्री परीक्षण गरिएको छ । परीक्षणका क्रममा ढक, काँटामा पूजाअर्चना गर्दा टीका थपिएर बढी भएको र नवीकरण समयमा नभएको पाइएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका निरीक्षक मौनता मानन्धरले जानकारी दिनुभयो । यसले गर्दा उपभोक्ता मारमा परेको उहाँले बताउनुभयो ।

मानन्धरका अनुसार कोभिड–१९ का कारण पनि व्यवसायीले समयमा नवीकरण गर्न सकेका छैनन् । ‘कोभिडले गर्दा समयमा कार्यालय खुला नहुँदा पनि नवीकरण समयमा हुन नसक्दा नवीकरण पाइएन, नवीकरण गर्न सुझाव दिएका छौं, नवीकरण र परीक्षण नहुँदा व्यवसायी वा उपभोक्ता दवैमध्ये एक जना ठगिनुहुन्छ ।’ –निरीक्षक मानन्धरले भन्नुभयो । ‘इलेक्ट्रिक काँटामा उतार–चढाव आउन सक्ने हुन्छ, उपभोक्ता र व्यापारी दुवै नठगिउन् भनेर १० प्रतिशत बराबरको ढक अनिवार्यरूपमा राख्न सुझाव दिएका छौं’, उहाँले भन्नुभयो– ‘डिजिटल काँटा प्रयोगकर्ता एक व्यापारीले ३ सय ग्राम नै बढी दिएको भेटियो, यसलाई ठीक छ कि छैन भनेर परीक्षणका लागि पनि १० प्रतिशत बराबरको ढक राख्न लगाएका छौं ।’ आर्थिक वर्ष २०७३-७४ देखि नापतौल परीक्षणको योजना आएको मानन्धरले बताउनुभयो ।

नापतौल कार्यालयले एक दिनका लागि ढक, तराजु परीक्षणको कार्यक्रम सञ्चालन गरेको दमौली बजार इकाइका सचिव दधिराज घिमिरेले बताउनुभयो । दमौलीमा १ हजार २ सय व्यवसायी रहेका छन् । तीमध्ये ढक परीक्षण गर्न नभ्याइएको खण्डमा म्याद थप गरिने उहाँले बताउनुभयो । ‘ढक, डिजिटल काँटा प्रयोग गर्ने व्यापारीलाई खबर गरेका छौं, तर अटेर गरी परीक्षणका लागि ढक नल्याउने व्यापारीको गुणस्तर तथा नापतौल कार्यालयले अनुगमन गर्नेछ र सोहीअनुरूप कारबाही वा जरिवाना पनि हुनेछ ।’ –घिमिरेले भन्नुभयो ।वषौं अघिका ढक हुँदा खिया लागेर तौल कम हुने, डिजिटलको मेसिन बिग्रिएर तौल ठीक नदेखाउने जस्ता समस्या हुने भएकाले बेला–बेलामा बजार अनुगमन गर्ने र प्रत्येक दुई–दुई वर्षमा अनिवार्यरूपमा परीक्षण गरी ठीक भएकोमा स्टिकर टाँस्ने गरिएको सहायक निरीक्षक रघुनाथ पौडेलले बताउनुभयो ।

अधिकांशले नापतौल नवीकरण समयमा नगरेको पाइएको छ । नवीकरण समयमा नगरेका व्यापारीसँग १ सय रुपियाँ जरिवाना लिइएको पौडेलले बताउनुभयो । सरकारले तोकेको जरिवाना लिइएको उहाँले बताउनुभयो । गुणस्तर तथा नापतौल कार्यालय पोखराका निरीक्षक मौनता मानन्धरसहित ४ जनाको टोलीले नापतौल परीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्