नदी र सडककिनारको फोहोरले फैलायो दुर्गन्ध



नेपाल समाचारपत्र, पर्वत

जलजला गाउँपालिकामा पर्ने मालढुङ्गा–बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा दुर्गन्धले आवत–जावत गर्नेलाई समस्या हुनुका साथै धार्मिक महत्वको कालीगण्डकी नदी प्रदूषित बनेको छ । वारिबेनी बजारको फोहोर संकलन गरेर वारिबेनी र लामाखेतको बीचमा पर्ने सडक छेउमा फाल्ने गरिएकाले दुर्गन्ध फैलिएको हो ।

फोहोर फालिने ठाउँको पुछारमा वारिबेनी लिफ्ट खानेपानी आयोजनाको मुहानसमेत छ । सडक छेउमा फालिने फोहोर पवित्र नदी कालीगण्डकीमा समेत पुग्छ । फालिएको फोहोर नष्ट गर्न लगाइने आगोको धूँवाले यात्रु तथा स्थानीयबासीलाई प्रभावित बनाइरहेको वारिबेनीकी रञ्जता शर्मा बताउनुहुन्छ ।यसअघि स्थानीय बजार व्यवस्थापन समितिले उठाउँदै आएको फोहोर व्यवस्थापनको जिम्मेवारी जलजला गाउँपालिकाले वारिबेनीको पीपलबोट युवा क्लबलाई थियो । गाउँपालिकाले २२ लाखमा खरिद गरेको ट्याक्टर मर्मत, इन्धन र चालक खर्च बेहोर्ने सर्तसहित संस्थालाई ट्याक्टर उपलब्ध गराएको थियो । गाउँपालिकाले तोकेको दरअनुसार शुल्क लिने संस्थाले पालिकालाई वार्षिक ४ लाख ८० हजार बुझाउने सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । व्यवसायी, घरधनी र भाडामा बस्नेका लागि मासिक न्यूनतम ५० देखि १ हजार १५ रुपियाँसम्म २६ वटा शीर्षकमा सेवा शुल्क लिइएको भए पनि फोहोर व्यवस्थापनमा कमजोरी देखिएको छ ।

सार्वजनिक सूचना जारी गरेर प्रस्ताव माग गरी संस्था छनोट गरिएको थियो । संस्थाले हाल पर्वत बेनी र बगरफाँटमा ९ सय घरधनी, व्यवसायी र भाडामा बस्नेबाट फोहोर व्यवस्थापन शुल्क उठाउन थालेको छ । दैनिक तीन ट्याक्टर फोहोर संकलन हुन्छ । लामाखेत, मिलनचोक र लस्ती बजारमा पनि फोहोर संकलन गर्ने सम्झौता भए पनि कार्यान्वयन भएको छैन । फोहोर व्यवस्थापन गर्न गत वर्ष गाउँपालिकाले आटरी भन्ने ठाउँमा ५ लाख खर्चेर बनाएको डम्पिङसाइटसम्म पुग्ने सडक पहिरोले भत्काएकाले सडक छेउ र कालीगण्डकी किनारमा फोहोर फाल्न बाध्य भएको पीपलबोट युवा क्लबका सचिव चञ्चल जीसी बताउनुहुन्छ । ‘मर्मतका लागि गाउँपालिकालाई आग्रह गरेका छौं’, उहाँले भन्नुभयो– ‘मिलनचोक र लस्ती बजारमा पनि ट्याक्टर पठाएर फोहोर व्यवस्थापन गर्ने तयारीमा छौं ।’ मिलनचोकको फोहोर लुङ्दी र लस्ती बजारको फोहोर कालीगण्डकी तथा लस्ती खोलामा फाल्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्