अशोक उत्कृष्ट निर्णायक



काठमाडौं, (नेस)

नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का द रियल डिल गि विन अन्तर्राष्ट्रिय अनलाइन पुम्से प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् । मलेसियाबाट सञ्चालित प्रतियोगितामा विभिन्न ९ देशका ११ निर्णायकमध्ये अशोक उत्कृष्ट चुनिएका हुन् । उक्त प्रतियोगितामा नेपालबाट निर्णायकको भूमिका निर्वाह गर्ने अशोक एक्लो हुन् । पाँचदिने प्रतियोगितामा करिब ९ सय खेलाडीले ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

वालिङ नगरपालिका स्याङ्जाले जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा शानदार जितले अन्त्य गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिका रौतहटलाई ३–० ले हराएको हो । टिमलाई जित दिलाउन हिमा रावत, अमिशा कार्की र विदेशी खेलाडी मेथो एलुड रुथले एक एक गोलको योगदान दिएका हुन् । योसँगै वालिङ कुल १२ खेलबाट १७ अंक जोडेर अंकतालिकाको चौथो स्थानमा रहेको छ । तर, आज पुलिसले जित्यो भने वालिङको यो स्थान हेरफेर हुन सक्नेछ ।
१५ अंकको पुलिसले चौदण्डीगढीसँग आफ्नो अन्तिम खेल्ने भएको हुँदा वालिङ पाँचौं स्थानमा झर्ने सम्भावना धेरै छ । चौदण्डीगढीले ११ खेल खेलेर पनि कुनै अंक जोड्न सकेको छैन । जारी लिगमा चौदण्डीगढी अंकविहीनका साथै सबैभन्दा बढी गोल बेहोर्ने कमजोर टिम हो । आज लिग उपाधि विजेता एपीएफले दोस्रो स्थानको आर्मीसँग खेल्नेछ ।
एपीएफले बुधबार नै दुई खेल खेल्नअगावै उपाधि जित्ने तय गरिसकेको थियो । सो दिन आर्मी र पुलिस बराबरी खेलेपछि नै एपीएफ लिग च्याम्पियन बनेको थियो । एपीएफले लगातार ११ खेल जितेर शत प्रतिशत नतिजा निकालेको छ भने आर्मीले दुई बराबरी र एक हार बेहोर्दा उपाधिबाट विमुख हुनुपरेको थियो । उक्त एक मात्र हार पनि एपीएफबाट नै भएको थियो ।

प्रतिक्रिया दिनुहोस्