देवघाटमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली



मीला दरै, तनहुँ ।

देवघाटमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । देवघाट गाउँपालिकाको वडा नम्बर ५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत् वडादम्बर १ को कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । त्यस क्षेत्रमा अहिले लघु जलविद्युतमार्फत् विद्युत् आपूर्ति भइरहेको थियो तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् विस्तार गरिएको तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिनुभयो । थिकेका अनुसार नेपाल विद्युत प्राधिकरणमार्फत् कार्यान्वयन भइरहेको कार्यक्रममार्फत तनहुँलाई पूर्ण विद्युतीकरण गरिनेछ ।

त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ११ केभी लाइन र ३ वटा ट्रान्सफर्मर बिहीबार सञ्चालन ।(चार्ज) गरिएको तनहुँ विद्युतीकरण आयोजनाका साइट इन्चार्ज लक्ष्मण रेग्मीले जानकारी दिनुभयो । ‘लाइन र ट्रान्सफर्मर जडान गरी चार्ज गरेका छौं, तनहुँ वितरण केन्द्रले अब उपभोक्ताको घरघरमा मिटर जडान गर्नेछौं,’ उहाँले भन्नुभयो–‘लाइन पुगेपछि त्यस क्षेत्रका करिब ५ सय घरधुरी लाभान्वित हुनेछन् ।’ विद्युत् आपूर्तिका लागि कालीटार, कोटा र गोपीटारमा एक÷एक वटा ट्रान्सफर्मर राखिएको छ । केही दिनअघि घिरिङ गाउँपालिका–१ मा पनि राष्ट्रिय प्रसारण लाइन पु¥याई विद्युत् आपूर्ति शुरू गरिएको छ ।तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इष्ट इन्डिया उद्योग-वाइवा इन्फ्राटेक जेभीसँग २०७५ मंसिर १३ मा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौताको रकम अमेरिकी डलर ६१ लाख ५३ हजार अमेरिकी डलर र १४ करोड ८८ लाख रुपियाँ रहेको छ ।ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ । कम्पनी ३३÷११ केभी वितरण लाइन निर्माण गर्नेछ । कार्यक्रमअन्तर्गत नै बन्दीपुर गाउँपालिकाको सराङघाट र घिरिङ गाउँपालिकामा सब–स्टेसन निर्माणाधीन छन् । ग्रामीण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण काम यसै आर्थिक वर्षमा सक्ने लक्ष्य आयोजनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्