एमिकस क्युरीको बहस आज सकिँदै



काठमाडौं, (नेस) ।

गैरसंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गरी दायर भएका रिट निवेदनको सम्बन्धमा जारी बहस आज शुक्रबार सकिँदै छ । गत माघ तीन गतेदेखि जारी भएको बहस आज सकिन लागेको हो ।

रिट निवेदन र सरकारी पक्षबाट बहस सकिएपछि मंगलबारदेखि एमिकस क्युरीको बहस शुरु भएको थियो । हिजो बिहीबारसम्म पाँचमध्ये चार जना एमिकस क्युरीको बहस सकिएको छ । बाँकी एक जनाको पनि शुक्रबार सकिने भएको छ । त्यसपछि सर्वोच्च अदालतले निर्णय सुनाउने दिन तोक्छ वा शुक्रबार नै आफ्नो आदेश सुनाउँछ भन्नेबारेमा अन्योल नै छ ।

एमिकस क्युरीमध्ये वरिष्ठ अधिवक्ता गीता संग्रौला पाठकले मात्र आफ्नो भनाइ राख्न वाँकी रहेको छ । बिहीबार वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले एमिकस क्युरीको नाताले आफ्नो भनाइ राख्नुभएको थियो । उहाँले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको कार्यलाई गैरसंवैधानिक भएको उल्लेख गर्नुभएको थियो । उहाँले सर्वोच्चले प्रतिनिधि सभालाई पुनस्र्थापना गर्नुपर्ने गरी राय दिनुभएको थियो । यसअघि एमिकस क्युरीका रुपमा आफ्नो भनाइ राख्दै अर्का वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको कार्यलाई संविधानसम्मत भएको उल्लेख गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्