भागरथी हत्या प्रकरण :दिनेशले बयान फेरे बलात्कारपछि हत्या गरेको स्वीकार



विनाद सिंह विष्ट, बैतडी ।
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । यसअघि छोराले त्यत्रो अपराध गरेको होला भनेर लागेकै थिएन तर आफुसमेत रहेको बेला लिइएको बयानमा सबै मैले गरेको हुँ भन्छ, कसरी नपत्याउनु ?’ –बुबा दीपकराज भट्ट  बिहीबार सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेका दिनेशका बुवा दीपकराज भट्टले जानकारी दिनुभयो ।

बुधबार सार्वजनिक गरिएका दिनेशले यसअघि आफुले हत्या मात्रै गरेको बताउँदै आएका थिए । तर बिहीबार दिनेशका बुबा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिलसहित रहेको टोलीले संयुक्तरुपमा लिएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन् ।दिनेशका बुबा दीपकराजले भन्नुभयो– ‘यसअघि छोराले त्यत्रो अपराध गरेको होला भनेर लागेकै थिएन तर आफुसमेत रहेको बेला लिइएको बयानमा सबै मैले गरेको हुँ भन्छ, कसरी नपत्याउनु ?’दिनेशले बिहीबार पनि २ बयान गरेका छन् । दिनेशले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका बेला बुबा दीपकराजलाई आफुले हत्या मात्रै गरेको बताएका थिए तर सरकारी वकिल कार्यालयमा लिएको बयानमा बलात्कारसमेत आफैले गरेको बताएका हुन् । दीपकराजले भन्नुभयो– ‘प्रहरीभित्रै रहेको बेला भेट्दा हत्या मात्रै गरेको हुँ भन्यो तर पछि आएर बलात्कार पनि गरें भन्यो ।’यस्तै बिहीबारै बयानका क्रममा दिनेशले घटनास्थलमै भागरथीको घडी पनि रहेको बताएका थिए । दिनेशले भनेकै आधारमा प्रहरीले घटनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो ।

दिनेशले माघ २१ गते विद्यालयको हाफटाइमको समयमा जिस्काएको बयान दिएका छन् । दिनेशले दिएका बयानका आधारमा बुबा दीपकराजले भन्नुभयो– ‘हाफटाइममा भागरथीले जिस्काएपछि मैलै उसको छुट्टी हुने समयमै आफ्नो कक्षा छाडें, त्यसपछि खोचलेक बजारबाट पिछा गर्दै लवलेक जंगलमा घटना गरे भन्यो ।’ यसका साथै पुरानो घरायसी रिसइबी पनि थियो भनेर सुनेको भनेर बयानमा भनेका छन् । दीपकराजले भन्नुभयो– ‘पुरानो घरायसी रिसइबी र विद्यालयको हाफटाममा जिस्काएको भनेर भनेको छ । लवलेक जंगलमा पुगेपछि पहिला सडकबाट धकेलेर भीरमा लडाएको त्यसपछि बेहोस अवस्थामा बलात्कार गरेको र पछि घाँटी निमोठेर हत्या गरेको समेत बयान दिएका छन् ।भागरथी र दिनेश एकै गाउँ चडेपानीका हुन् । नाताले दुवै जना दिदीभाइ पर्छन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा भागरथी कक्षा १२ र दिनेश कक्षा ११ मा पढ्थे ।गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।त्यसपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान शुरु गरेको थियो । भागरथीको शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको भन्ने उल्लेख गरिएको छ ।

दिनेशले सार्वजनिक गर्दासम्म हत्या मात्रै गरिएको भन्ने बयान दिएकाले यसअघि आशंका पैदा भएको थियो । बुधबार पत्रकार सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीले दिनेशको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा सार्वजनिक गरिएको बताउनुभएको थियो । घटनाको अनुसन्धानका लागि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरेको थियो । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी पञ्चकुमार बाँखुसहित प्राविधिकहरु खटिएका थिए । हाल वरिष्ठ उपरीक्षक पाण्डेको टोलीको नेतृत्वले थप अनुसन्धान गरिरहेको छ ।
बुधबार नै मृतक भागरथीका दाजु शंकर भट्टले दिनेशका विरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान गर्न बैतडी प्रहरीलाई अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्