मिटर ब्याजीमाथि अनुसन्धान शुरू



वीरगन्ज, नेस ।
जिल्ला प्रशासन कार्यालय पर्साले दुईजना मिटर ब्याजीमाथि अनुसन्धान शुरू गरेको छ । पीडित र पीडकबीच भएको छलफलको क्रममा तत्कालको लागि पीडक दोषी रहेको भन्दै प्रारम्भिक अनुसन्धानबाट खुलेपछि जिल्ला प्रशासन कार्यालय पर्साले बयान लिएको छ । झापाको भद्रपुर–२ घर भई वीरगन्ज–१० मा बसोबास गर्दै आएका मुरलीमनोहर मित्रुका र मदनमोहन मित्रुकालाई मिटर ब्याजीको आरोपमा जिल्ला प्रशासन कार्यालयले पक्राउ गरी १० दिनको तारिखमा रिहा गरेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो

 वीरगन्ज–१२ मुर्लीका एमडी सहाबुद्दीन अन्सारीले मुरलीमनोहरसँग १३ लाख ऋण लिई कपाली तमसुक गरेका थिए । तर, मित्रुकाले सात वर्षमा साँवा–ब्याजसहित १ करोड ९० लाख पु¥याएपछि अन्सारीले जिल्ला प्रशासन कार्यालय पर्सामा उजूरी दिए । सोही उजूरीमा मुरलीमनोहर र मदनमोहनले वीरगन्जमा सयौंलाई ब्याज दिने र पछि मिटर ब्याज असुल्दै दर्जनौं व्यक्तिमाथि मुद्दा दायर गरेको देखिएको छ । पीडित अन्सारीका अनुसार मित्रुका दाजुभाइले अहिले जिल्ला अदालतमा चारजनामाथि मुद्दा दायर गरी घर–जग्गाविहीन बनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्