एमबाप्पेको ह्याट्रिक, बार्सिलोना निरीह



लन्डन, (एजेन्सी) ।

युवा फरवार्ड क्लियन एमबाप्पेले सानदार ह्याट्रिक गरेको खेलमा स्पेनिस ला लिगा क्लब बार्सिलोना निरीह सावित बनेको छ ।युईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सेली च्याम्पियन पिएसजीले बार्सिलोनालाई उसैको घरेलु मैदान क्याम्प नोउमा ४–१ को फराकिलो गोल अन्तरले हराउँदा एम्बाप्पेले तीन गोल आफ्नो नाममा लेखाएका हुन्

प्रतियोगिताको अन्तिम १६ चरणको पहिलो लेगमा पिएसजीले बार्सिलोनाविरुद्ध अवे लेगमा नै सानदार जित दर्ता गरेको हो । खेलको सुरुवातमै बार्सिलोनाका कप्तान लिओनेल मेसीले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको थियो । खेलको २७औं मिनेटमा मिडफिल्डर फ्रेन्की डे जोङ पेनाल्टी क्षेत्रभित्र डिफेन्डर लेभिन कुर्जावाको खुट्टामा अल्झेर लडेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेसीले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै घरेलु टोलीलाई अघि बढाए । तर, त्यसपछि एमबाप्पेले सानदार प्रदर्शन गर्दै बार्सिलोनालाई घरेलु मैदानमा हारको स्वाद चखाए । बार्सिलोनाले अग्रता लिएको ५ मिनेटपछि नै एमबाप्पेले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।

मार्को भेराट्टीको फ्लिकको पासमा एमबाप्पेले लेंगलेटलाई छलाएर गोल गरेका थिए । त्यस्तै, खेलको ६५औं मिनेटमा पिएसजीले एमबाप्पेकै गोलमा अग्रता लियो । फ्लोरेन्जीले गरेको क्रस जेरार्ड पिकेले क्लियर गर्न नसक्दा पेनाल्टी क्षेत्रभित्र खाली रहेको बललाई एमबाप्पेले वान टचमा गोल गरेका थिए । त्यसको ५ मिनेटपछि इटालियन फरवार्ड मोइस किनले अग्रता दोब्बर पारे । पारेडेसको फ्रिकिक बलमा किनले अफसाइड ट्रयाप बिट गर्दै गरेको हेडर स्टेगनले बचाउन सकेनन् । खेलको ८५औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पँरा गरे । जर्मन मिडफिल्डर जुलियन ड्राक्स्लरले दिएको पासलाई एमबाप्पेले बार्सिलोनाको जाली चुमाएपछि पिएसजीले ४–१ ले जित पक्का गरे । पिएसजी बार्सिलोनालाई घरेलु मैदानमा हराउने दोस्रो फ्रान्सेली टोली पनि बन्न सफल रहयो । अब पिएसजी र बार्सिलोनाबीच दोस्रो लेगको खेल १० मार्चमा पेरिसमा हुनेछ ।

युईएफए च्याम्पियन्स लिग अन्तर्गत नै मंगलबार राति भएको अर्को खेलमा लिभरपुलले पनि आरबी लेइप्जिगलाई घरेलु मैदानमा २–० ले पराजित गरेको छ । लेइप्जिगले डिफेन्समा गरेको गल्तिको फाइदा उठाउँदै मोहमद सलाह र साडियो मानेले गोल गरेपछि लिभरपुलले पहिलो लेगमा अग्रता बनाएको हो । खेलको ५३औं मिनेटमा सलाहले लेइप्जिगका मार्सल साबिट्जरको ब्याक पासलाई नियन्त्रणमा लिँदै वान भर्सेस वानको स्थितिमा अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि नै लिभरपुलले मानेको गोलमा अग्रता दोब्बर पा¥यो । अब दुई टोलीले १० मार्चमा दोस्रो लेग एनफिल्डमा खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्