दुई स्थानीय तहमा हरियाली पार्क



नेपाल समाचारपत्र, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीको दुई ठाउँमा हरियाली पार्क निर्माण भएको छ । पछिल्लो समय बढ्दो शहरी कोलाहलबाट मुक्त हुन तथा धूलो–धुँवाबाट बच्नका लागि इन्द्रेणी अर्थात् हरियाली पार्क निर्माण भएका हुन् । वायु तथा ध्वनी प्रदूषणबाट बच्नुका साथै स्वस्थ जीवनयापन जिउनेतर्फ मानवलाई आकर्षित गर्न हरियाली पार्क निर्माणको अवधारणा अगाडि बढाइएको हो ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यापर्यटन कार्यक्रमअन्तर्गत हिमाली जिल्ला म्याग्दीको दुईवटा स्थानीय तहमा हरियाली पार्क निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा गाउँनजिकै रहेको पर्यटकीयस्थल लभ्लीहिल र मंगला गाउँपालिका–२ बाबियाचौरमा हरियाली पार्क निर्माण गरिएको हो । प्रदेश सरकारको १८ लाख रुपियाँको लागतमा मंगलाको बाबियाचौर तथा १२ लाख रुपियाँको लागतमा लभ्लीहिलमा हरियाली पार्क निर्माण भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । शहरी क्षेत्रको बढ्दो प्रदूषणबाट बच्न र पर्यावरणको समेत संरक्षण गर्ने उद्देश्यसहित हरियाली पार्क निर्माणको कार्य अघि सारिएको जनाइएको छ । पर्यटकहरुको चहलपहल बढाउन तथा बालबालिका, ज्येष्ठनागरिक र पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको हरियाली पार्कमा विभिन्न प्रजातिका सुगन्धवाल फलफूलका बिरुवाहरु रोपिएका छन् । अक्सिजन उत्सर्जन गर्न, पर्यटकलाई वनस्पतिसम्बन्धी विषयमा सूचना दिन र जैविक विविधताको संरक्षण एवं अभिवृद्धि गर्ने उद्देश्यले हरियाली पार्क निर्माण गरिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताउनुभयो ।
सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गालाई हरियाली बनाई सफा र स्वच्छ हावा लिनका लागि समेत पार्क निर्माणमा जोड दिइएको छ । म्याग्दीको विभिन्न स्थानमा सामुदायिक वनअन्तर्गत खाली जग्गाजमिन र पाखो क्षेत्रलाई उपयोग गर्ने गरी हरियाली पार्क निर्माण गरिएको हो ।
निर्माण गरिएका पार्कमा दुबो, धुपी, कपुर, अशोक, बुलमहर, कल्कीफुल प्रजातिका सदाबहार हरियाली भइरहने र सुगन्धवाल बिरुवाहरु रोपिएका छन् । लभ्लीहिलमा हरियाली पार्क बनाएर विभिन्न प्रजातिका बोटबिरुवा रोपेसँगै पछिल्लोपटक लभ्लीहिल भ्रमण गर्ने आन्तरिक पर्यटकहरु बढ्दै जान थालेको खबराका स्थानीय चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
मंगला गाउँपालिकाले भने गत आर्थिक वर्षमा मंगला इन्द्रेणी पार्क निर्माणमा २५ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । बाबियाचौर निवासी क्या। इन्द्रबहादुर अधिकारीले करिब ४ रोपनी जग्गा निःशुल्क दिएपछि इन्द्रेणी पार्क निर्माण गरिएको छ । इन्द्रेणी पार्क पसिरमा दुबो, धुपीलगायत सुगन्धवाल फलफूलका बिरुवाहरु रोपिएको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बताउनुभयो । दुवै ठाउँमा निर्माण गरिएका हरियाली पार्कले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत चहलपहल बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्