धुलिखेल पहिलो बालमैत्री नगर



नेपाल समाचारपत्र, काभ्रे ।

धुलिखेल नगरपालिकाको ३५औं स्थापना दिवसको अवसरमा नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले धुलिखेल नगरपालिकाले बालमैत्रीका ३९ वटा सूचक पूरा गरेकाले भन्दै बालमैत्री नगर घोषणा गर्नुभएको हो ।

‘विकास भनेको पूर्वाधार मात्रै होइन, बालबालिकाका लागि गरिएको लगानीले मुलुक समृद्ध बन्न सहज हुन्छ’, मन्त्री ज्ञवालीले भन्नुभयो–‘बालबालिका खुसी र समृद्ध भएको मुलुकका हरेक क्षेत्र समृद्ध र सचेत हुन्छन् । धुलिखेलले त्यो यात्राा प्रारम्भ गरेकोमा बधाई तथा शुभकामना ।’ मुलुकमा भएको राजनीतिक संक्रमण निर्वाचनबाट समाधान हुने बताउँदै मन्त्री ज्ञवालीले निर्वाचनबाट नभाग्न सबै राजनीतिक दललाई अनुरोध गर्नुभयो । प्रतिनिधिसभा विघटन संविधानअनुसार नै भएको उहाँले ठोकुवासमेत गर्नुभयो ।

त्यसै गरी, कार्यक्रममा बोल्दै पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विकासको गति र मुलुकको छवी उच्च भएको बताउनुभयो । सरकारले घोषणा गरेको निर्वाचनबाट भाग्नेहरुले मुलुकलाई अस्थिरतातर्फ उन्मुख गराउन लागेको उहाँको धारणा छ । त्यस्तै, नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा खानेपानीलगायतका क्षेत्रमा समृद्ध बनाउँदै अघि बढेको बताउनु भयो ।धुलिखेल नगरपालिकाले वडा नम्बर १० लाई पहिलो वडाका रूपमा बालमैत्री घोषणा गरेको थियो । तत्कालीन महिला तथा बालबालिका मन्त्री थममाया थापा मगरले जिल्लाको दोस्रो बालमैत्री वडाका रूपमा वडा नम्वर १० शारदा बतासेलाई घोषणा गर्नुभएको थियो ।

वडा नम्बर ३, ४, ५, ६ र ७ लाई प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ फागुन ५ गते बालमैत्री वडा घोषणा गर्नुभएको थियो भने सोही कार्यक्रममा नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सन् २०२० भित्रै धुलिखेललाई बालमैत्री नगर घोषणा गरिसक्ने प्रतिबद्धता गर्नुभएको थियो । सोहि प्रतिबद्धताअनुसार २०२० भित्रै बालमैत्री नगर घोषणाका लागि सूचकाकंहरु तयार गरिएको थियो । नगरपालिकाको स्थापना दिवसको अवसर पारी धुलिखेललाई बालमैत्री नगर घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्