गीतकारको कफी लभ



गीत लेखनबाट गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ११औं उपन्यास कफी लभ सार्वजनिक भएको छ।

हालै राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहका बीच प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, पुस्तकका लेखक, प्रकाशकलगायतले पुस्तकको सयुक्तरूपमा विमोचन गरे। उपन्यास कलेज पढ्दै गरेका युवा–युवतीको कफीको चुस्कीसँगै शुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह–अवरोहको कथामा केन्द्रित छ।

पुस्तकबारे बोल्दै कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवं जीवनशैली र वर्तमान नेपाली समाजको अवस्था यसले छर्लंग पारेका बताए। आख्यानकार डीआर उपाध्यायले यो पुस्तक लेख्दा आफु २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवा युवतीको सँगतमा रही उनहरुको प्रेमभावलाई पुस्तकमा समेटेको बताए। पुस्तकको समीक्षा गर्दै कवि हेम प्रवासले तृतीय पुरुषमा लेखिएको यो उपन्यास संवाद शैलीको भएको बताए। पुस्तकका सम्पादक तथा गीतकार एवं पत्रकार डब्बु क्षत्रीले घटना, स्थान, परिवेश र संवादलाई यथार्थपरकरूपमा समेटेकाले यो उपन्यास सबैलाई आफ्नो कथा होजस्तो लाग्ने बताए।

प्रतिक्रिया दिनुहोस्