कोरोनाले रोकेन भरतलाई



कोरोना जोखिमका कारण धेरै प्राविधिक यसपटक खालि बस्न बाध्य भए। फिल्म तथा भिडियो सम्पादक भरत रेग्मीले यस्तो पीडा भोग्नुपरेन। लकडाउनमा समेत घरमै बसेर कामलाई अगाडि बढाउने जुक्ति उनले लगाए। लकडाउन खुकुलो भएपछि शुरु भएको म्युजिक भिडियो छायांकनसँगै उनी सम्पादनमा व्यस्त भए।

भदौ यताबाट हालसम्म २२ म्युजिक भिडियो निर्देशनसमेत गरिसकेका उनले आफुलाई भिडियो, विज्ञापन र वृत्तचित्र सम्पादनमा भ्याई–नभ्याई भएको बताए।सञ्चारर्मी बन्ने सपना बोकेर नवलपारसीबाट काठमाडौं आएका उनी शुरुमा कान्तिपुर टेलिभिजनमा आबद्ध भए। त्यहाँ १४ वर्ष काम गरेपछि स्वतन्त्र भएका भरत फिल्मभन्दा म्युजिक भिडियो सम्पादनमा फाइदा भएको बताउँछन्। एउटा विज्ञापन सम्पादन गरेको ५० हजारदेखि १ लाख रुपियाँ र एउटा फिल्म सम्पादन गरेको कम्तीमा ३ लाख रुपियाँ लिने उनलाई फिल्मभन्दा भिडियो सम्पादनमा बढी फाइदाजनक भएको छ। फिल्ममा आर्थिकभन्दा पनि आप्mनो कला प्रस्तुत गर्न पाइने भएकाले फिल्मको सम्पादन गर्दै आएको उनले बताए। कलिउड, ऋतु, कथा काठमाडौं, सुश्री सम्पत्ति, चौका दाउसहित १० फिल्मको सम्पादन गरका उनको भनाइमा सम्पादनमा फिल्मभन्दा भिडियोमा आर्थिकरूपमा निकै फाइदा हुन्छ।

विभिन्न म्युजिक भिडियोसँगै वृत्तचित्र सुनाकलीबाट थुप्रै अवार्ड जितेका भरत सम्पादन पेसामा नामसँगै दाम र सम्मान पनि हुने गरेको बताउँछन्। सम्पादनसँगै ग्राफिक, एनिमेसन, रङ संयोजन गर्नु भरतको विशेषता हो। टेलिभिजन छाडेपछि रक ब्यान्ड स्याडोजको म हुुँ प्रकृति गीतबाट स्वतन्त्ररूपमा भिडियो सम्पादन शुरु गरेका उनले हालसम्म ५ सयभन्दा बढी म्युजिक भिडियोसँगै वृत्तचित्र, विज्ञापन र फिल्मको सम्पादन गरिसकेका छन्। नेपालमा अग्रजदेखि पछिल्ला पुस्ताका अधिकांश चर्चित गायकगायिकाको म्युजिक भिडियो सम्पादन उनले गरेका छन्।उनले अघिल्लो पुस्ताका दीपक खरेल, दीप श्रेष्ठ, हरिवंश आचार्य, ओमविक्रम विष्ट, लता मंगेसकर जस्ता थुप्रै गीतको म्युजिक भिडियोको सम्पादन गरिसकेका छन्।

यस्तै रामकृष्ण ढकाल, योगेश्वर अमात्य, हेमन्त शर्मा, हेमन्त राना, हिमाल सागर, युवराज चौलागार्इं, मिलन अमात्य, धर्वेन्द्र सेवान, धीरज राई, शिशिर योगी, विधान श्रेष्ठ, इन्दिरा जोशी, कन्धारा ब्यान्ड, अञ्जु पन्त, बाबु बोगटी, कालीप्रसाद बास्कोटा, अनिल सिं, सन्नी रौनियार, शिव परियार, विश्वा नेपाली, स्वनुप पौडेल, सन्जना श्रेष्ठ, आशिष सचिन, निशान भट्टराईसहित अधिकांश चलेका गायकगायिका र कलाकारको भिडियो पनि सम्पादन गरिसकेका छन्। एउटा कुशल सम्पादकले सामान्य भिडियो र फिल्मलाई पनि उत्कृष्ट बनाउन ठुलो भूमिका खेल्न सक्ने बताउने उनी आफुले त्यो काम गर्दै आएको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्