घिन्ताङसँगै निर्देशनमा फर्के दीपक



गाउँले, दुःख, जीवनसाथी, राम–लक्ष्मण, पापी मान्छे, पर्खी बसें, हिम्मत, वाचा जस्ता थुप्रै हिट फिल्म दिएका लोकप्रिय सञ्चारकर्मी तथा निर्देशक दीपक श्रेष्ठ पुनः फिल्म निर्देशनमा फर्केका छन्। उनी घिन्ताङ नामक फिल्मसँगै पुनः निर्देशनमा फर्केका हुन्।

लामो समयको अन्तरालपछि निर्देशक श्रष्ठले निर्देशन गर्न लागेको घिन्ताङको वसन्त पञ्चमीको अवसर पारेर बुधबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा आयोजित समारोहबीच पुजा आजा गरी शुभमुहुर्त गरिएको छ। निर्देशक श्रेष्ठका अनुसार घिन्ताङले अन्तरजातीय प्रेमकथा बोल्नेछ। निम्नवर्गीय एकल पुरुष र एकल महिलाको जीवनमा आउने उतार–चढावलाई प्रस्तुत गरिने फिल्ममा श्रीमतीको निधनपछि विधुर भएका दलित समुदायका युवा र श्रीमान्को निधनपछि विधवा भएकी बाहुन समुदायकी युवतीबीच प्रेम सम्बन्धको कथा भन्नेछ। श्रेष्ठकै निर्माणमा बन्ने फिल्मको भोलि शुक्रबारदेखि छायांकन आरम्भ हुनेछ।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ र ४ जना बालकलाकारको अभिनय रहने निर्देशक श्रेष्ठले बताए। फिल्मको कथा साहित्यकार मन्दिरा मञ्जुश्रीले लेखेकी हुन्। मञ्जुश्रीले यो कथालाई एक सञ्चारमाध्यममा मासुको मुल्य शीर्षकमा प्रकाशित गरेकी थिइन्। दीपक शर्माको संगीत रहेको फिल्ममा संकल्प भुजेलको छायांकन र पुष्कर लामाको प्रोडक्सन डिजाइन रहनेछ। निर्देशक श्रेष्ठले यसअघि दुई दर्जन फिल्म निर्देशन गरिसकेका छन्। दीपकले लामो समयपछि फिल्म निर्देशनमा फर्कंदा उत्साहित भएको बताए। उनले फिल्मले सबै प्रकारका दर्शकलाई छुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्