सैनिक अधिकृतको अवलोकन भ्रमण



काठमाडौं, (नेस) ।

नेपाली सेना सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा तालिमरत सिसं २७ का ६९ जना अधिकृतबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण गरिएको छ ।

सो क्रममा अधिकृतहरुले प्रहरी प्रधान कार्यालयस्थित कमान्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब र संग्रहालयसमेतको अवलोकन गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तालिमरत अधिकृतहरूले प्रहरी प्रधान कार्यालय भ्रमण गरेकोमा खुसी व्यक्त गर्नुभयो ।भ्रमणका क्रममा अधिकृतहरूले प्रहरी प्रधान कार्यालयभित्र आवश्यक जानकारी प्राप्त गरेको विश्वास उहाँले व्यक्त गर्नुभयो । सबै सुरक्षा निकायबीच आपसी सहयोग र समन्वय हुनुपर्नेमा जोड दिँदै उहाँले यसबाट शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्न सकेको बताउनुभयो ।

प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । भ्रमण टोलीमा बंगलादेश, श्रीलंका, बेलायत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नाइजेरिया, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागबाट १–१ जना र नेपाली सेनाबाट ६० जना गरी जम्मा ६९ जना अधिकृतहरू सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्