भागरथी हत्याकाण्ड : हत्यारा भेटियो, बलात्कारी भेटिएन



विनोदसिंह विष्ट, बैतडी  ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार दिउँसो गरेको पत्रकार सम्मेलनमा सोही गाउँका १७ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले विभिन्न कोणबाट गरेको अनुसन्धानबाट अभियुक्त समात्न सफल भएको बताउनुभयो ।अनुसन्धान शुरु गरेदेखि नै ती व्यक्ति निगरानीमा थिए, सोधपुछ गर्दै जाँदा अन्तिममा उसले अपराध स्वीकार गरेको जनाइएको छ । आरोपितको बारम्बारको बयान बाझिएको र उसले गरेको गतिविधिले अपराध गरेको पुष्टि गरेको हो ।‘शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साविती बयानका आधारमा आरोपितलाई समातेका हौं’, पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले भन्नुभयो– ‘आरोपित त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन हेर्दा हत्यामा उसैको संलग्नता भएको पुष्टि भएपछि पक्राउ गरी बयान लिँदा घटना आफैले गराएको स्वीकार गरे ।’

भागरथीको पोस्टमार्टम रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भए पनि दिनेशले भने आफूले बलात्कार नगरेको बयानका क्रममा बताएका छन् । प्रहरीले पनि हत्या हो वा बलात्कारपछि हत्या भएको खुल्न नसकेको जनाएको छ ।‘अनुसन्धानकै क्रममा रहेकाले अहिले नै सबै कुरा सार्वजनिक गर्न मिल्दैन’, सुवेदीले भन्नुभयो– ‘मृतकको स्वाब परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको र रिपोर्ट आएपछि त्यो कुरा पुष्टि होला ।’भागरथीले नै अध्ययन गर्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक जंगलमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको खुलेको पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।भागरथीको हत्या गर्ने पूर्वयोजना रहेको र माघ २१ गते विद्यालयबाट अन्तिम कक्षा छोडेर घर फर्किएको, सिल्ल भन्ने स्थानबाट भागरथी आउनुअघि नै बाटो ढुकेर बसेको प्रहरीलाई बयान दिएका छन् ।

भागरथी त्यहाँ पुग्नेबित्तिकै सडकबाट तल धकेल्दै दुवै हातले घाँटी थिचेर हत्या गरेको बयान दिएको डीआईजी सुवेदीले बताउनुभयो । पुरानो घरायसी रिसइबीका कारण आफूले भागरथीको हत्या गरेको दिनेशले प्रहरीसमक्ष बताएका छन् ।

कर्तव्य ज्यान र बलात्कारसम्बन्धी जाहेरी दर्ता

मृतक भागरथीका दाजु शंकर भट्टले दिनेशका विरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेकाले अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।दिनेशलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।प्रहरीले दिनेशलाई नै अपराधी हो भनेर पक्राउ गरेपछि आफूले जाहेरी दिएको शंकरले बताउनुभयो । उहाँले भन्नुभयो– ‘दिनेश एक्लैले त्यतिसम्म ग¥यो होला भन्ने विश्वास त छैन, प्रहरीले अपराधी त्यही हो भनेपछि हामीले जाहेरी दिएका हौं ।’

घटनाको अनुसन्धानका लागि डीआईजी सुवेदीसँगै, एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतको टोली खटिएको थियो ।आफन्तद्वारा अझै पनि शव बुझ्न अस्वीकारप्रहरीले अभियुक्त सार्वजनिक गरेको भए पनि भागरथीका आफन्तले भने अझै पनि शव नबुझ्ने बताएका छन् । शव जिल्ला अस्पताल बैतडीमा रहेको छ ।अपराधी भनेर प्रहरीले सार्वजनिक गरिएका दिनेशले हत्या मात्रै गरेको बताएकाले बलात्कारीको खोजी गर्नुपर्ने आफन्तको माग रहेको छ । ‘दिनेशले हत्या मात्रै गरेको स्वीकारेको छ तर पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या गरिएको भनिएको छ’, भागरथीका काका शिवराज भट्टले भन्नुभयो– ‘पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भनेको छ, हत्यारा पत्ता लागेको भए पनि बलात्कारी पनि खोज्नुपर्छ, बलात्कारी पत्ता नलाग्दासम्म शव बुझ्दैनौं ।’
गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते बेलुका स्थानीय लवलेक जंगलमा निर्वस्त्र र विभत्स अवस्थामा शव फेला गरेको थियो ।

यता भागरथीको शव भेटिएको दिनदेखि नै आन्दोलनमा रहेका आन्दोलनकारीले प्रहरीले चित्तबुझ्दो प्रमाणसहित सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका छन् । भागरथी भट्टको न्यायका लागि गठित संघर्ष समितिका संयोजक निशा भट्टले दिनेश नै अपराधमा संलग्न थिए भन्ने कुरा प्रमाणित गर्नुपर्ने बताउनुभयो ।यस्तै संघर्ष समितिका सदस्य भोजराज जोशीले हत्यारा पत्ता लागे पनि बलात्कारी पत्ता नलागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो घटनामा एउटै व्यक्तिको संलग्नता हुनै सक्दैन, बलात्कारी पनि सार्वजनिक गर्नुपर्छ ।’

बदलाको भावनाले हत्या

भागरथीको हत्यामा संलग्न रहेका दिनेशले आफ्नी आमामाथि भएको अन्यायको विरुद्धमा उक्त कदम उठाएको बताएका छन् । भागरथीका बाबुले दिनेशको आमामाथि गरेको दुव्र्यवहारका कारण हत्याको बदला लिएको बताएको डीआईजी सुवेदीले जानकारी दिनुभयो ।एक वर्षअघि भागरथीका बाबुले दिनेशको आमालाई यौन दुव्र्यवहार गरेको र उक्त घटना गाउँमा नै मिलाएको भन्ने खबरले मर्माहत भएका दिनेशले उनको परिवारमाथि बदला लिने सोच बनाएका थिए । उनले मौका छोपेर भागरथीको हत्या गर्ने योजना नै बनाएका थिए । उक्त घटनापछि दिनेशको परिवार त्यहाँबाट बसाइँ सरेर गएका थिए । यौन दुव्र्यवहारमा संलग्न रहेका भागरथीको बाबुको दुई महिनाअघि निधन भएको थियो । दिनेशले भागरथीको बुबामाथि नै बदला लिने सोच बनाएका थिए । उनको निधन भएपछि छोरीमाथि बदला लिने सोच बनाएर उक्त घटना गराएको दिनेशले प्रहरीलाई बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्