भारतबाट २० लाख डोज खोप खरिद गरिँदै



काठमाडौं, (नेस) ।

नेपाल सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट उत्पादित कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप २० लाख डोज खरिद गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त खोप खरिदका लागि अग्रिम भुक्तानी दिने निर्णय गरेको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट कम्पनीले खोपको रकम शुरुमै भुक्तानी गर्नुपर्ने सर्त राखेको थियो । स्वास्थ्य मन्त्रालयले सीधै खरिद गर्न नमिलेकै कारण मन्त्रिपरिषद्बाट निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद ऐन र नियमावलीअनुसार अग्रिम भुक्तानी गर्न नसक्ने भएपछि बाधा अड्काउ फुकाउन मन्त्रिपरिषद्मा प्रस्ताव गरेको र मन्त्रिपरिषद्ले खोप खरिदका लागि अग्रिम रकम भुक्तानीको बाटो खुला गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशत मात्रै अग्रिम भुक्तानी दिन मिल्ने कानुनी प्रावधान छ । तर सिरम इन्स्टिच्युटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेको थियो । यो समस्या समाधान गर्न मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ गरेको हो ।

मन्त्रिपरिषद्को यो निर्णयले खोप खरिद गर्ने बाटो खुलेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी गराउनुभयो । खरिद गरिँदै गरेको खोप एक डोज बराबर अमेरिकी ४ डलर पर्ने पनि उहाँले बताउनुभयो । खोपको अग्रिम भुक्तानी गर्ने मन्त्रिपरिषद्को निर्णयपछि राजपत्रमा निर्णय प्रकाशित गर्ने, एलसी खोल्नेलगायतका प्रक्रिया पूरा गर्नका लागि केही दिन लाग्ने मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्