३५ औँ स्थापना दिवस : धुलिखेल नगरपालिका जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा



मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवसको अवसरमा नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले धुलिखेल नगरपालिकाले बालमैत्रीका ३९ वटा सुचक पुरा गरेकाले बालमैत्री नगर घोषणा गरेको बताउनु भयो ।
मन्त्री प्रदीप ज्ञवालीले मुलुकका कर्णधार बालबालिका मैत्री नगर घोषणा गरी समग्र क्षेत्रको प्रतिनिधित्व गरेकोमा धुलिखेल नगरपालिकालाई धन्यवाद दिनु भएको थियो ।

‘विकास भनेको पूर्वाधार मात्रै होईन, बालबालिकाहरुका लागि गरिएको लगानीले मुलुक समृद्ध बन्न सहज हुन्छ’–मन्त्री ज्ञवालीले भन्नुभयो–‘बालबालिका खुशी र समृद्ध भएको मुलुकका हरेक क्षेत्र समृद्ध र सचेत हुन्छन् । धुलिखेलले त्यो यात्राा प्रारम्भ गरेकोमा बधाई तथा शुभकामना ।’मुलुकमा भएको राजनीतिक संक्रमण निर्वाचनबाट समाधान हुने बताउँदै मन्त्री ज्ञवालीले निर्वाचनबाट नभाग्न सबै राजनीतिक दललाई अनुरोध गर्नु भयो । प्रतिनिधि सभा विघटन संविधान अनुसार गरिएको उहाँले बताउनु भयो ।

पुर्व मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विकासको गति र मुलुकको छवी उच्च भएको बताउनु भयो । सरकारले घोषणा गरेको निर्वाचनबाट भाग्नेहरुले मुलुकलाई अस्थिरता तर्फ उन्मुख गराउन लागेको नेता बास्कोटाले बताउनु भयो । नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा खानेपानी लगायतका क्षेत्रमा समृद्ध बनाउँदै अघि बढेको बताउनु भयो ।

धुलिखेल नगरपालिकाले वडा नम्वर १० लाई पहिलो वडाका रुपमा बालमैत्री घोषणा गरेको थियो । तत्कालिन महिला तथा बालबालिका मन्त्री थममाया थापा मगरले जिल्लाको दोश्रो बालमैत्री वडाका रुपमा वडा नम्वर १० शारदा बतासेलाई घोषणा गर्नु भएको थियो । वडा नम्बर ३, ४, ५, ६ र ७ लाई प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ फागुन ५ गते बालमैत्री वडा घोषणा गर्नु भएको थियो । सोहि कार्यक्रममा नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सन् २०२० भित्रै धुलिखेललाई बालमैत्री नगर घोषणा गरिसक्ने प्रतिवद्धता गर्नु भएको थियो । सोहि प्रतिवद्धता अनुसार २०२० भित्रै बालमैत्री नगर घोषणाका लागि सुचकाकंहरु तयार गरिएको थियो । नगरपालिकाको स्थापना दिवसको अवसर पारी धुलिखेललाई बालमैत्री नगर घोषणा गरिएको हो ।

‘समजाको विकासको लागि त्यस क्षेत्रका बालवालिकाहरुको चौतर्फी विकास हुन जरुरी छ, जब बालबालिकाहरुको विकासमा हामी लगानी गर्छाँै त्यसको गुणात्मक प्रतिफल प्राप्त गर्दछौँ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘हामीलाई विश्वस छ जहिलेसम्म बालवालिकाहरुलाई अनुशासित र सक्षम बनाउँन सक्दैनौ त्यस बेलासम्म हामी हाम्रो नगरको विकासको परिकल्पना गर्न सक्दैनौ । यही कुरालाई मध्य नजर गरी बालमैत्री स्थानीय शासनलाई अवलम्वन गरी सोही बमोजिमका विभिन्न कृयाकलापहरु सञ्चालन गरी बालमैत्री नगर घोषणा गर्न सकेका हौं ।’


बालमैत्री स्थानीय शासन बालअधिकार सम्बन्धी समग्र पक्षको प्रवद्र्धन गरी स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारण हो । बालमैत्री स्थानीय शासनलाई सवै वडाहरुमा अवलम्वन गरी प्रत्येक वडाहरुमा बालमैत्री पार्क निर्माण, एक घर एक धाराको अभियान, प्रारम्भकि बालविकास केन्द्रको सुधार, प्रत्येक बालबालिकाहरुलाई अनिवार्य रुपमा विद्यालय भर्ना अभियान, विद्यालय व्यवस्थापन समिति र स्वास्थ्य ब्यवस्थापन समितिमा बाल क्लबका प्रतिनिधिको अनिवार्य प्रतिनिधित्व हुने कानुनी व्यवस्था, जन्म दर्ताको अभियान, विद्यालयमा छात्र र छात्राहरुको लागि अलग अलग शौचालय निर्माण, बालश्रम न्यूनीकरण, बालविवाह निषेध लगायतका विभिन्न कार्यक्रमहरु हसम्पन्न भएका थिए ।

बालबालिकाहरुको हेरचाह तथा अनाथ बालबालिकाको सहयोगका लागि ३९ लाख बाराबरको रकमबाट १२ वटै वडामा बाल कोष स्थापना गर्नुका साथै बालमैत्री घोषणा गर्ने वडाहरुलाई पुरस्कार स्वरुप प्रति वडा ५ लाखका दरले पुरस्कार वितरण गरेको छ । बालमैत्री स्थानीय शासनले तोकेका ३९ वटा सूचकहरुलाई स्थानीयकरण गर्नुका साथै सूचकहरुको अन्तिम मान्यता दिई बालमैत्री पार्क, पोषण सुधार लगायतका स्थानीय सूचकहरुलाई थप गरी नगर कार्यपालिकाबाट सवै वडाहरुमा प्रभावकारी कार्यान्वयन गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

बालमैत्री नगर घोषणाका लागि नगरपालिकाका सबै जनप्रतिनिधि, कर्मचारी तथा नगरमा स्थापना भएका ५५ वटा बाल क्लब, नगर तथा १२ वटै वडाहरुमा रहेका वडा बाल सँजाल, नगर स्तरीय बालमैत्री स्थानीय शासन समिति, वडा समन्वय समिति र बाल संरक्षण तथा सम्बद्र्वन उप समितिको सकृयता रहेको सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले जानकारी दिनु भयो ।

कार्यक्रममा उपप्रमुख विमला शर्मा लगायतले धुलिखेल नगरपालिकाले गरेका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । नगरपालिकाले स्थापना दिवसको अवसर पारी विभिन्न विद्याबाट हरेक क्षेत्रमा कृयाशिल ब्यक्तिहरुलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्