मध्यपुर थिमीमा कराते एकेडेमी 



काठमाडौं, (नेस) ।

नेपाल सितोरियो सोबुकान कराते डो संघले मध्यपुर कराते एकेडेमी सञ्चालनमा ल्याएको छ । मध्यपुर थिमी नगरपालिकाले उपलब्ध गराएको करिब २ रोपनी जग्गा हातामा एकेडेमी निर्माण गरिएको हो ।

एकेडेमीका बारेमा प्रकाश पार्दै कोषाध्यक्ष सनिश श्रेष्ठले सोही हातामा पहिले करातेको ट्रेनिङ हल पनि निर्माण गरिएको जानकारी दिँदै सहयोगका लागि मध्यपुर थिमी नगरपालिकालाई धन्यवाद दिए । एकेडेमी र ट्रेनिङ हलका लागि करिब ८० लाख खर्च हुने बताउँदै अझै केही काम बाँकि रहेको बताए ।मध्यपुर थिमी नगरपालिका वडा–४ को वप्पास्थित निर्माण गरिएको एकेडेमी भवन ४२ फिट लम्बाइ र ३२ फिट चौढाइ रहेको छ । २ वटा भवनलाई सिनियर र जुनियर खेलाडीका लागि प्रयोग गरिने बताइएको छ ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले एकेडेमीको एक कार्यक्रमबीच उद्घाटन गरे । उनले आफँ पनि पँर्वखेलाडी भएकाले खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखेले एकेडेमी स्थापन गर्ने कार्यको प्रशंसा गर्दै खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । एकेडेमीका अध्यक्ष सजन श्रेष्ठले सबैको साथ र सहयोगले निर्माण सम्भव भएको बताए ।

प्रतिक्रिया दिनुहोस्