मेलौलीमा डेढ वर्षपछि चिकित्सक



बैतडी, (नेस) ।

बैतडीको तल्लो स्वराड क्षेत्रको रेफरल सेन्टरका रूपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा चिकित्सक आएका छन् । नगरपालिकाले आह्वान गरेको विज्ञापनमा एक जना चिकित्सक प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्ने गरेर छनोट भएका हुन् ।

केन्द्रले डेढ वर्षपछि चिकित्सक पाएको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले जानकारी दिनुभयो । एक जना मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा धेरै समस्या थियो । ‘नगरपालिकाको लामो प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको छ, हामीले नगरपालिकाबाट पनि थप पारिश्रमिक दिने गरेर डाक्टर नियुक्त गरेका हौं ।’ –उहाँले भन्नुभयो ।केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका लागि नगरपालिकाले आह्वान गरेको आवदेनमा डाक्टर सुनीलसिंह पुजारा छनोट भएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिनुभयो । डाक्टर पुजाराले सेवा शुरु गरिसकेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएसँगै रोकिएका एक्सरे सेवा, ईसीजी सेवा, अल्ट्रासाउन्ड सेवा, पोस्टमार्टमलगायतका सेवाहरु सञ्चालन हुनेछन् । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बिमाको पनि सूचीकृत संस्था भएकाले डाक्टरको अभावमा बिमितहरुले सेवा पाउन मुस्किल भएको थियो । अब डाक्टर आएपछि ती सेवा पनि सुचारु हुने जनाइएको छ ।दुई वर्षयता प्राथमिक स्वास्थ्य केन्द्र हेल्थ असिस्टेन्टकै भरमा सञ्चालन भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्