युएस क्यापिटल काण्डको स्वतन्त्र छानबिन हुने



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले कंग्रेसले गत ६ जनवरीमा पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले युएस क्यापिटलमा गरेको आक्रमणको घटनामाथि छानबिन गराउन एउटा छुट्टै स्वतन्त्र आयोग गठन गर्ने जानकारी दिएकी छन् ।

विधायकहरूलाई पठाइएको औपचारिक पत्रमा आयोग सन् २००१ को ११ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय लडाकु समुह अलकायदाका नाइके ओसामा विन लादेनको निर्देशनमा अमेरिकाको न्युयोर्क र पेन्टागनमा गरिएका आतंककारी आक्रमण छानबिन गर्न बनाइएको आयोगकै दाँजोको हुने जानकारी गराइएको छ ।
पेलोसीले सरकारले सो घटना कसरी भयो भन्ने सत्य तथ्य पत्ता लगाउन चाहेको बताएकी छन् ।

यसै, हिंसात्मक घटनाको अभियोगमा ट्रम्पविरुद्ध महाभियोग लगाइएको थियो । तर, दोषी प्रमाणित गर्न आवश्यक ६७ मत प्राप्त नभएकाले सिनेटले ट्रम्पलाई सफाइ पनि दिइसकेको छ ।ट्रम्पविरुद्ध केही रिपब्लिकन सिनेटरहरू समेत मतदान गरेका थिए । डेमोक्रेट र केही रिपब्लिकनहरूले उक्त हिंसात्मक घटनामाथि स्वतन्त्र रूपमा हुन लागेको अनुसन्धानको समर्थन गरेका छन् । क्यापिटल भवनमा जबर्जस्ती ट्रम्प समर्थक प्रवेश गर्दा भएको हिंसामा एकजना प्रहरी अधिकारीलगायत पाँचजना व्यक्तिले ज्यान गुमाएका थिए ।

पेलोसीले केही सातादेखि अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल रस्सेल होनोरेले क्यापिटल काण्डलाई लिएर आवश्यक सुरक्षा सहयोगहरू प्रदान गर्दै आएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्