कम्युनिष्टको स्वतन्त्रता मात्रै आफ्नो सम्मानको लागि : नेता बास्तोला



भूपराज बस्याल, पोखरा ।

नेपाली काङ्ग्रेसका युवा नेता शंकरप्रसाद बास्तोलाले कम्युनिष्टहरुले दिने स्वतन्त्रता भनेको आफूलाई सम्मान गर्ने मात्रै भएको आरोप लगाउनु भएको छ ।

कम्युनिस्टले आफ्नो जयजयकार गर्ने स्वतन्त्रता मात्रै दिएको आम नागरिकलाई आभास भएको नेता बास्तोलाले बताउनु भएको हो । नेपाल समाचारपत्रसंग कुराकानी गर्दै नेपाली काङ्ग्रेस कास्की क्षेत्र नम्बर २ का सचीव तथा पोखरा महानगर पालिका वडा नम्बर ४ का वडा अध्यक्ष शंकरप्रसाद बास्तोलाले कम्युनिष्टहरुलाई सँधै नागरिकले फूलमालाले पुजा मात्रै गरिरहनुपर्ने हो भन्दै प्रतिप्रश्न गर्नुभयो ।

उहाँले व्यंग्य गर्दै भन्नुभयो, ‘देश सिध्यायो भने, वाह तिमीले गज्जव गरिरहेका छौ भन्नुपर्छ । बालुवाटार बेच्दा वाह भन्नुपर्छ, वाईडवडीमा अरवौं भ्रष्टाचार गर्दा गज्जव गरेउ भन्नुपर्छ, निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा सरकारले गज्जव गरिरहेको छ भन्नुपर्छ । अहिले संविधानको हत्या गर्दा पनि सरकारको जयजय होस् भन्नुपर्छ । किनकी नागरिकलाई कम्युनिष्टहरुले जे गरेपनि गज्जव ग-यौ भन्ने स्वतन्त्रता मात्रै छ । कम्युनिष्ट पार्टी मा हुने स्वतन्त्रता यत्ति मात्रै हो ।’

‘पूर्व प्रधानन्यायधिसहरु संसद विघटनलाई संविधानको हत्या भनेका छन्, नागरिक समाजले संवैधानिक कू भनेका छन् । संविधान निर्माताहरुले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार छैन भनेका छन् । सबै राजनीतिक दलहरु सडकमा छन् । प्रतिपक्षी मात्रै होईन, उनकै पार्टीका बहुमत नेता कार्यकर्ताहरु सडक आन्दोलनमा छन् । पार्टी यहि कारणले फुटिसक्यो तर महामहिम प्रधानमन्त्री खड्क ओली रोमका शासकजस्तो संविधान, नियम र कानुनमा आगो झोसेर मध्यावधी चुनावको बाँसुरी बजाईरहेका छन् । यति गर्दा पनि हामीले गज्जव ग¥यौ भनिरहनु परेको छ ।’ उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्