झापाको बुद्धशान्ति गाउँपालिका रबरग्राम घोषणा हुने



न्युज अफ नेपाल, भद्रपुर ।

झापाको एउटा गाउँपालिका रबर क्षेत्र घोषणा हुने भएको छ । उत्पादन र आम्दानीको दृष्टिले लाभदायी मानिएको रबर बालीको अध्ययन, अनुसन्धान र प्रबद्र्धन गर्ने उद्देश्य राखेर गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुद्धशान्ति गाउँपालिकालाई ‘गिरिजाप्रसाद कोइराला एग्रो टुरिजम रबरग्राम’ घोषणा गर्ने भएको हो ।

रबर खेतीसम्बन्धी प्रशिक्षण समेत दिदै आउँनुभएका सीताराम बास्तोलाका अनुसार आदर्श नमूना सामुदायिक बन क्षेत्र र ब्यक्तिगत रुपमा बुद्धशान्तिको लगभग १० हेक्टर जमिनमा रबर खेती हुँदै आएको बताउँनुभयो । इलाम र मोरङमा पनि रबर खेती प्रारम्भ भएको जानकारी दिँदै बास्तोलाले झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, चितवनसम्म विरुवा माग हुन थालेको बताउँनुभयो । हाल झापाको रङ्गेडाँडास्थित सरकारी बनको जग्गा लिजमा लिएर एग्रो फरेष्टले रबरका विरुवा उत्पादन गर्दै आएको उहाँको भनाइ छ ।

‘मुख्यगरी हात्ती प्रभावित क्षेत्रमा नगदे बाली हात्तीले नष्ट गर्न थालेपछि रबर खेतीतर्फ किसान आकर्षित हुन थालेका छन् । फाउण्डेशनले भारतीय राजदूताबासको सहयोगमा बार्षिक ३ लाख विरुवा किसानलाई वितरण गर्ने लक्ष लिएको छ । रबर खेती हात्तीले नष्ट नगर्ने र विरुवा लगाएको ५–६ बर्षदेखि उत्पादन लिन सकिने विज्ञको दाबी छ । त्यसपछि लगभग ३० बर्षसम्म निरन्तर उत्पादन लिन सकिने जनाइएको छ ।

फाउण्डेशनले रबर खेतीतर्फ किसानलाई आकर्षित गरेर जीवनस्तर उकास्न यसको ब्यावसायिक खेती, प्राविधिक ज्ञान र प्रबद्र्धनबारे जानकारी दिने उद्देश्यले अनुगमन भ्रमणमा समेत लैजाने लक्ष लिएको फाउण्डेसन झापा अध्यक्ष बुद्धीराज न्यौपानेले जानकारी दिनुभयो । भारतको केरला राज्यको काट्टियानमा सबैभन्दा धेरै रबर खेती हुँदै आएको उहाँको भनाइ छ ।

१५–१५ फुटको अन्तरमा रोपिने रबर खेतीभित्र चार–पाँचबर्षसम्म अन्य बाली समेत लगाउन सकिने प्रशिक्षक बास्तोला बताउँनुहुन्छ । ‘४–५ पि.एच. भएको माटो, पानी नजम्ने भिरालो जमिन रबर खेतीका लागि उत्तम मानिन्छ’ रबर खेतीसम्बन्धी प्रशिक्षक बास्तोलाले इलामको झापाको बोर्डर एरिया, पहाड र तराईको बीचमा रहेको नेपालको चुरे पहाड रबर खेतीका लागि उपयुक्त स्थान भएको उहाँले बताउँनुभयो । उजाडिदै गएको चुरे पहाडको फेदीमा रबर खेती गर्न सके पर्याप्त आम्दानी लिन सकिने उहाँ बताउँनुहुन्छ ।

रबरको चोपबाट साइकल, मोटरसाइकल, गाडीको टयुब टायर, फेबिकल, इरेजर, बेलुन, जुत्ताचप्पलको सोललगायतका ५० हजार बढी सामग्रीहरु बन्ने बताइन्छ । हाल नेपालमा रबरको सामग्री उत्पादनका लागि कम्पनी स्थापना भए पनि उत्पादन नहुँदा बार्षिक ८ अर्ब बढीको कच्चा पदार्थ आयात भइरहेको बास्तोलाले जानकारी दिनुभयो । मागको लगभग १ प्रतिशत मात्रै नेपालमा उत्पादन भइरहेको छ । चुरे पहाडमा ब्यावसायिक रबर खेती गर्नसके बार्षिक ८ अर्ब रुपेयाँ जोगिने र नेपाल बाहिरसमेत कच्चा पदार्थ निर्यात गर्न सकिने उहाँको भनाई छ ।

फूल, फल, चोप, बोट र उत्पादन दिन छाडेपछि काठसमेत बहुमूल्य रहेको रबर खेतीभित्र मौरीपालन समेत गर्न सकिने बताइन्छ । रबरको फूल गुलियो हुने हुँदा मौरी पालन फस्टाउने अनुमान गरिएको हो । त्यसो त रबरको विरुवाले अत्यधिक कार्बन उत्सर्जन गर्ने हुँदा कार्बनको ब्यापार समेत गर्न सकिने बास्तोलाले बताउँनुभयो । रबरको दानाबाट उत्पादित तेल मेसिनरी सामानमा प्रयोग गर्न सकिन्छ । रबरको काठ पानीजहाज बनाउन प्रयोग गरिने जनाइएको छ ।

फाउण्डेशनका झापा अध्यक्ष न्यौपानेका अनुसार केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजता कोइरालाको प्रमुख आतिथ्य र कृषि सचिव डा. योगेन्द्र कार्कीको विशिष्ट आतिथ्यमा हुने कार्यक्रमका बीच रबरग्राम घोषणा गरिनेछ । सोही कार्यक्रमका बीच उत्कृष्ठ रबर किसानहरुलाई सम्मान पनि गरिने जी.पी. कोइराला रबरग्राम कार्यक्रमका सचिव तथा रबरजोन जिल्ला समिति झापाका सल्लाहकार सिताराम बास्तोलाले जानकारी दिनुभयो ।

लोकतन्त्र, शान्ति र विकासको मूल नारासहित स्थापित जी.पी. फाउण्डेशनले यही फागुन ६ गते आदर्श नमूना सामुदायिक बन बुद्धशान्ति–३ मा आयोजित एक समारोहका बीच रबरग्राम घोषणा गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्