हेटौंडामा प्रदेशस्तरीय प्रजातन्त्र दिवस



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशको राजधानी हेटौंडामा ७१ औं प्रजातन्त्र दिवस प्रदेशस्तरमा भव्यरुपमा मनाइने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको बैठकले ७१ औं प्रजातन्त्र दिवस फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर भव्यरुपमा मनाउने निर्णय गरेको हो ।

बैठकले प्रजातन्त्र दिवस मनाउन प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेशस्तरीय प्रजातन्त्र दिवस समारोह समिति गठन गरेको छ । मुख्यमन्त्री कार्यालयमा समारोह समिति गठन गर्न बसेको बैठकले प्रजातन्त्र दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत तय गरेको छ ।

बैठकले दिवसका अवसरमा हेटौंडामा अन्तर माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता, परिसम्वाद कार्यक्रम, सरसफाइ, रक्तदान, फलफुल बितरण, खुला दौड प्रतियोगिता, म्युजिकल थेरापी कार्यक्रमलगायत सार्वजनिक स्थानमा झण्डा फहराउने तथा तीन दिन दीपावली गरेर मनाउने निर्णय गरेको छ ।

बैठकले फागुन ७ गते व्यापक जनपरिचालनसहित ¥याली तथा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयीलाई पुरकार बितरण कार्यक्रम गर्ने बताएको छ । बैठकले जनपरिचालनको जिम्मा जिल्ला समन्वय समिति मकवानपुरलाई, अन्तर माविस्तरीय हाजिरीजवाफ प्रतियोगिताको जिम्मा सामाजिक विकास मन्त्रालयलाई, परिसम्वाद कार्यक्रमको जिम्मा प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयलाई, सरसफाइ कार्यक्रमको जिम्मा हेटौंडा उपमहानगरपालिकालाई, फलफुल बितरणको जिम्मा कृषि तथा सहकारी मन्त्रालयलाई, रक्तदान कार्यक्रमको जम्मेवारी कर्मचारी मिलन केन्द्र मकवानपुरलाई, खुला दौड प्रतियोगिता व्यबस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई र म्युजिकल थेरापीको जिम्मा प्रदेश प्रहरी कार्यालयलाई दिएको छ ।

बैठकले अन्तर माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार तथा खुला दौडमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १२ हजार, १० हजार र ५/५ हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

अन्तिम दिन भुटनदेवी माविको चौरबाट र्‍यालीसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुरस्कार बितरण तथा मञ्चको कार्यक्रम हुने बताइएको छ । कार्यक्रम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंको प्रमुख आतिथ्यता एवम् सभामुख सानुकुमार श्रेष्ठको विशेष आतिथ्यतामा हुनेछ ।

बैठकमा मुख्यमन्त्री पौडेलले प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ । बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुंगेल, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामा, भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुया“ल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, प्रमुख सचिव मानबहादुर बिकेलगायत मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्