ओलीको कदम व्यवस्थाविरोधी भएको सिटौलाको आरोप



नेपाल समाचारपत्र, भद्रपुर  ।

नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचना गरेर वर्तमान व्यवस्थाविरोधी कार्य सच्याउन चेतावनी दिनुभएको छ । नेपाली कांग्रेस झापाले आयोजना गरेको प्रधानमन्त्री ओलीको कदम विरुद्धको विरोधसभालाई चन्द्रगढीमा सम्बोधन गर्दै नेता सिटौलाले संविधानले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको प्रस्ट पार्नुभयो ।

स्थिर संसद् विघटन गर्ने ओलीको कदम वर्तमान संविधानको मूल उपलब्धि संघीयता, गणतन्त्र र धर्म निरपेक्षता जस्ता प्रगतिशील राजनीतिक कार्यविरुद्धको कदम भएकाले आत्मालोचना गरेर सच्चिन सिटौलाले चेतावनी दिनुभएको हो ।तीनवर्षे अवधिमा देश र जनताका पक्षमा काम गर्न नसकेको ओली सरकार आफ्ना आसेपासे कम्युनिस्ट पार्टीका लागि मात्र चर्तिकला भएको उहाँले बताउनुभयो । संविधान मस्यौदा समितिका सभापतिसमेत रहेनुभएका सिटौलाले राजा–महाराजाको अपूर्व अधिकार खोज्ने ओली तानाशाह बन्ने प्रयासमा रहेकाले खवरदारी जरूरी भएको प्रस्ट पार्नुभयो ।

‘समृद्ध नेपाल सुखी नेपाली’ उखान र भाषणले नहुने भन्दै प्रदेश–१ कै गौरवशाली आयोजनाका रूपमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण अलपत्र पारेको उहाँले जनाउनुभयो । राजनीतिक अस्थिरता निम्तने गरी संसद् विघटन गरेर गणतन्त्रका लागि ज्यान बलिदान गर्ने शहीदको रगतमा समेत ओलीले हिलो छ्यापेको सिटौलाले आरोप लगाउनुभयो ।तीनवर्षे कार्यकालमा देश र जनताको उन्नति हुने काम गर्न नसकेका ओलीले नेकपाको नेतासमेत हुन नसकेर आफ्नो रिस संसद्माथि पोखेको उहाँको दाबी छ ।सिटौलाले प्रधानमन्त्रीको आवरणमा वर्तमान संविधान ध्वस्त पार्ने खेल हुन संक्ने आशंका गर्दै संविधानको मूल मर्मको रक्षा गर्ने जिम्मेवारी अदालतमा रहेकाले कसैको दबाब, प्रभाव र सेटिङमा न्यायाधीश लाग्न नहुने भन्दै न्यायालयको गरिमा बचाउन अपिलसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्