ट्राफिक स्वयंसेवक परिचालन



काठमाडौँ, (नेस)  ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।

महाशाखा र उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३ सय जना ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण दिइ काठमाडौँका विभिन्न चोक, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिएको छ । महाशाखाले स्वयंसेवकलाई १० दिन सम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ ।काठमाडौँ उपत्यकाको सवारी चाप हुने तथा बढी भीडभाड हुने स्थानमा सहजर सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदल यात्रुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्ने र नियम पालना गर्न सन्देश प्रवाह गर्ने एसएसपी भट्टराईले जानकारी दिनुभयो ।स्वयमसेवक परिचालन बाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस गर्ने र आम सडक प्रयोगकर्तालाई सहजता मिल्नेमा आफु विश्वस्त रहेको भट्टराईले बताए ।उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरैपैदलयात्रुहरु दुर्घटना परि अनाहकमा ज्यान गुमाउनुको साथै अंगभङ्ग हुने गरेको छन् ।

सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि लापरबाही तरिकाले सडक पार गर्ने र जथाभावी हिडडुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले त्यसलाई रोक्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाले जनाएको छ ।यस अघि महाशाखाले नेपाल स्काउट, युवा बिद्यार्थीहरुलाई समेत प्रशिक्षण दिई बिभिन्न चरणमा ट्राफिक स्वयमंसेवक परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यसलाई निरन्तरता दिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्