पौडेल पक्षीय जिल्ला सभापतिहरुको बैठक स्थगित



काठमाडौं, (नेस) ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भोलि बुधबार बस्ने भनिएको जिल्ला सभापतिसहित अगुवा नेताको भेला स्थगित भएको छ ।पार्टी विधान र नेपालको संविधान दुवै संकटमा पर्दै गएको भन्दै कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराउन पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि जिल्ला सभापतिहरु बैठक बस्ने तय गरिएको थियो ।

कांग्रेसको विधानअनुसार फागुन ७ गते महाधिवेशन गरिसक्नुपर्ने थियो । अब संविधानअनुसार ६ महिना मात्र समयावधि थप्न पाइनेछ । प्रधानमन्त्रीले संसद् विघटन गरेपछि संविधानसमेत संकटमा परेको भन्दै बहस भइरहेको छ । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको सोमबार साँझ बसेको जिल्ला सभापतिहरुले बैठकले भोलि केन्द्रीय समिति बैठक आह्वान गरिएकाले जिल्ला सभापतिहरुको बैठक स्थगित गरिएको हो ।

काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिएअनुसार जिल्ला सभापतिहरुको भेलाको महत्वलाई मध्यनजर गर्दै सभापति शेरबहादुर देउवाले भोलि केन्द्रीय समिति बैठक आह्वान गरेकाले जिल्ला सभापतिहरुले भेला स्थगित गरेका हुन् । कांग्रेसको विधान र देशको संविधान संकटमा पर्दै गएको अवस्थामा केन्द्रीय समिति बैठकले नै छलफल गरी आगामी दिशा निर्देश गर्ने अपेक्षासहित भेला स्थगित गरिएको जिल्ला सभापति आचार्यको भनाइ थियो ।

केन्द्रीय समिति बैठकले महाधिवेशनबारे ठोस निर्णय लिने अपेक्षा गरिएको भन्दै पौडेल पक्षीय जिल्ला सभापतिहरुले बताएका छन् । साथै संसद्को पुनस्र्थापना कि निर्वाचन भन्नेबारेमा पनि कांग्रेसले ठोस निर्णय लिनुपर्ने उनीहरुको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाले भने सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरे पनि निर्वाचनमा जाने बाटो खोले पनि कांग्रेस स्वीकार गरी अघि बढ्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्