क्लिनफिडको अर्थतन्त्रमा योगदान



कौशिक नवराज

क्लिनफिड राष्ट्रवाद मात्रै नभएर यो नेपालको आवश्यकता पनि भैसकेको थियो ।नेपालमा विदेशी च्यानलहरुको दबदबा र दोहोरी नीति थियो । नेपाली ग्राहकबाट टेलिभिजन हेरेबापत रकम पनि असुल्ने अनि सोही च्यालनमा विज्ञापन पनि समावेश गरेर दोहोरो आम्दानी गर्दै आइरहेका थिए । अझ भारतीय मल्टिनेसनल कम्पनीका मालिकहरुले त के सोच्थे भने,नेपालमा नेपालीहरुले अधिकांश भारतीय टेलिभिजन च्यानलहरु हेर्छन् र हाम्रा उत्पादनका विज्ञापनहरुसमेत भारतीय च्यानलमा नै देखाए पुग्छ भनेर उनीहरुले उत्पादनमा विज्ञापन शुल्क जोड्थे तर त्यो विज्ञापन शुल्क भारतीय बजारमा नै खपत हुन्थ्यो । त्यसको कुनै पनि हिस्सा न नेपाली च्यानल, न कुनै विज्ञापन एजेन्सी, न अन्य कुनै कलाकार र प्राविधिकले पाउँथे । नेपालीहरुले पाउने भनेको विज्ञापन शुल्क जोडिएको महँगो वस्तु र उत्पादन मात्रै ।क्लिनफिड समयको माग मात्रै नभएर यसले दीर्घकालमा नेपालको अर्थतन्त्रमा समेत योगदान दिन सक्ने देखिन्छ ।क्लिनफिडले नेपाली अर्थतन्त्रमा कसरी योगदान दिन्छ भन्ने बारेमा यहाँ चर्चा गरिन्छ ।

विज्ञापन बजार विस्तार:

क्लिनफिड लागू भएपछि नेपालमा प्रसारण हुने कुनै पनि विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापन प्रसारण गर्न पाउँदैनन् । साथै नेपालमा सञ्चालित आमसञ्चारका माध्यमबाट पनि नेपाली भाषामा डबिङ गरिएका विज्ञापनहरु प्रसारण गर्न पाउँदैनन् ।यसको सोझो मतलत हो विदेशी टेलिभिजनमा प्रसारण हुने विज्ञापनहरु अब नेपालमा नै सुटिङ र नेपाली भाषामा नै तयार गरी नेपाली कलाकार र मोडल राखेर नेपाली टेलिभिजन च्यानलहरुमा मात्रै प्रसारण गर्नुपर्नेछ । विज्ञापन व्यावसायीहरुका अनुसार आजभन्दा १२–१५ वर्षअघि नेपालमा क्लिनफिड हुनपर्छ भन्दा नेपालको विज्ञापन बजार करिब २–३ अर्बको मात्रै थियो, आज त्यो बढेर करिब१० अर्ब पुगेको छ । अव क्लिनफिडको सफल कार्यान्वयन हुन पुगेमा सो बजार करिब २० अर्ब माथि पुग्ने अनुमान उनीहरुले गर्दै आएका छन् ।
नेपालमा क्लिनफिड हुनु भनेको स्वतः विज्ञापन बजार विस्तार हुनु हो । विज्ञापन बजार विस्तार हुँदा नेपाली कलाकार एवं प्राविधिकहरुले रोजगारी प्राप्त गर्ने र उनीहरुको क्रयशक्ति वृद्वि हुने देखिन्छ । यसले गर्दा नेपालको अर्थतन्त्रदेखि कुल गार्हस्थ्य उत्पादन र कुल आयमा समेत वृद्वि भई अर्थतन्त्र थप सबल एवं चलायमान हुन पुग्छ ।

नेपाली टेलिभिजन च्यानलहरुको सक्षमता:

हाल नेपाली टेलिभिजन च्यानलहरुको अवस्था दयनीय हुँदै गएको देखिन्छ । नेपालमा धेरै कम मानिसले मात्रै नेपाली च्यानलहरु हेर्ने गरेको तथ्याङ्क रहेको देखिन्छ ।यसको एकमात्रै कारण हो नेपाली टेलिभिजनहरुले विज्ञापन नपाउनु ।विज्ञापन नपाएमा अर्को कुनै आम्दानी छैन नेपाली मिडियाहरुको ।जसको कारण सरकारले दिएको अनुमतिपत्र नवीकरण गर्न,प्रसारण तथा वितरण शुल्क तिर्न र सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिनसमेत धौ–धौ परिरहेको अवस्था छ ।यसको एकमात्रै कारण भनेको आम्दानीको अभाव । आम्दानीभन्दा खर्च जसको बढी हुन्छ ऊ स्वतः कंगाल हुने बाटोमा जाने निश्चित नै छ ।यसर्थ नेपाली मिडियाहरु पनि विदेशी मिडियाको छायामा हुर्कन बाध्य भएका थिए ।क्लिनफिडपश्चात् विदेशी च्यानलमा विज्ञापन देखाउन नपाएपछि सो विज्ञापन स्वतः नेपाली मिडियाहरुमा छाउने नै भयो । अब विदेशी मल्टिनेसनल कम्पनीको विज्ञापन पाउन पनि नेपाली मिडियाहरुले टीआरपी बढाउनुपर्ने भयो ।राम्रा र गुणस्तरीय कन्टेन्ट उत्पादन गर्नुपर्ने भयो ।जसले राम्रा र गुणस्तरीय कन्टेन्ट उत्पादन गर्छ र जसको टीआरपी राम्रो छ उसले मात्रै विज्ञापन राम्रो पाउने भयो, जसले गर्दा नेपालमा नयाँ मिडिया थपिने र भएकाबीच राम्रो प्रतिस्पर्धा हुने भएको अनि उनीहरुले सरकारलाई नवीकरण शुल्क,रोयल्टी कर, भ्याटजस्ता करहरु दाखिला गर्नुपर्ने हुँदा देशको अर्थतन्त्रमा क्लिनफिडले योगदान पुग्ने देखिन्छ ।

न्यूनतम पारिश्रमिक कार्यान्वयन:

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना नै प्रकाशन गरेर राष्ट्रिय स्तरका मिडियादेखि अन्य मिडियाहरुले समेत आफ्ना संस्थामा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक दिनुपर्ने भनी अनिवार्य परिपत्र जारी गरेको अवस्थामा कतिपय मिडियाहरुले सो दिन नसकेको र नसक्ने अवस्था देखिएको थियो, जसको एउटै कारण हो मिडियाहरुको आम्दानी नहुनु अर्थात् विज्ञापन पाउन सक्ने अवस्था नदेखिनु ।हो, अब क्लिनफिडपश्चात् नेपाली मिडियाहरुमा तिनीहरुको स्तरअनुसार विज्ञापन बढ्दै जाने भयो र सोही कारण मिडिया सञ्चालकहरुले समेत सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन सक्ने भए । यसले गर्दा मिडिया पेसामा संलग्नहरुको आयआर्जन रोजगारीमा बढोतरी हुनेदेखि पारिवारिक हैसियतसमेत बढ्ने देखिन्छ ।अब नेपाली मिडियाहरुमा आबद्वहरुले २–४ महिना लकडाउन हुँदा रोजगारी गुम्ने अवस्था पनि नआउन सक्छ र मिडिया सञ्चालकहरुले समेत केही समय बन्द हुँदैमा कर्मचारी र पत्रकारलाई जागिरबाट निकालिहाल्नुपर्ने अवस्था नआउन सक्छ ।

खेलक्षेत्रमा योगदान:
झट्ट सुन्दा क्लिनफिडले खेल क्षेत्रमा के योगदान दिन्छ होला भन्ने लाग्न सक्छ तर दीर्घकालीनरुपमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ । हाल सञ्चालित आईपीएलको प्रायोजक, मुख्य प्रायोजक, अफिसियल स्पोन्सरदेखि खेलाडीका लुगामा र खाने पानीको बोतलसम्ममा बहुराष्ट्रिय कम्पनीहरुले विज्ञापन गरेको देखियो । यसको मतलब हो बहुराष्ट्रिय कम्पनीहरु आफ्नो सामानको विज्ञापन जुनसुकै क्षेत्रमा गर्न पनि पछि पर्दैनन् । अब नेपालमा क्लिनफिड भएपछि सोनी, स्टारलगायतका टेलिभिजनहरुले क्रिकेट र फुटबल लाइभ गर्दासमेत विज्ञापनरहित भएर गर्नुपर्छ । त्यही लाइभ नेपाली टेलिभिजनले ग¥यो भने उसले नेपाली विज्ञापन मज्जाले देखाउन सक्छ । यसको मतलब अब भारतमा आईपीएल भएजस्तै नेपालमा पनि क्रिकेटका विभिन्न टुर्नामेन्टहरु सञ्चालन हुन्छन्, जसको प्रत्यक्ष प्रसारणदेखि खेलाडी र खेलको आयोजक, प्रायोजक भई आफ्नो उत्पादनको विज्ञापन गर्न मल्टिनेसनल कम्पनीहरु बाध्य हुन्छन् ।नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरमा नाम र दाम कमाउन सफल अनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल र खेलाडीहरुको कमी रहेको देखिँदैन, जसले गर्दा उनीहरुले ती खेलाडी र खेलमा प्रायोजन गर्न सक्छन् । रोजगारी, आयकर नाफा करलगायतका शीर्षकमा खेल आयोजक र खेलाडीहरुले कर दाखिला गर्ने भए । यसले नेपालको अर्थतन्त्रदेखि रोजगारीमा योगदान गर्न सक्छ । साथै नेपाली खेलकुद र खेलाडीहरुको स्तर पनि वृद्वि हुँदै जान्छ ।

मनोरञ्जन क्षेत्रमा योगदान:

क्लिनफिड र मनोरञ्जन एक–आपसमा नजिकका विषय हुन् । नेपालको मनोरञ्जन र चलचित्रको बजार हिस्सा एकदमै सानो रहेको छ । नेपाली मनोरञ्जन र चलचित्र उद्योगलाई यसकारण पनि सरकारले उच्च प्राथमिकतामा नराखेको हुन सक्छ, किनकि यस क्षेत्रबाट अर्थतन्त्रमा योगदान एकदमै कम रहेको छ । अब क्लिनफिड भएपश्चात् नेपाली कलाकार, मोडल, प्राविधिकहरुको माग उच्चरुपमा बढ्ने अनि पारिश्रमिक पनि बढ्ने देखिन्छ ।अब नेपालमा प्रसारित विदेशी च्यानलले विज्ञापन बजाउन नपाउने,नेपाली टेलिभिजन र मिडियाहरुले पनि नेपाली कलाकार भएको नेपाली भाषी विज्ञापन मात्रै प्रसारण गर्नुपर्ने हुन्छ । नेपाली बजारमा विदेशी मल्टिनेसनल कम्पनीका सामानहरु विज्ञापन गर्नसमेत नेपालकै कलाकार राख्नुपर्ने अवस्था हुन्छ । यसकारण नेपाली कलाकारहरु राम्रा–राम्रा मल्टिनेसनल कम्पनीहरुसँग जोडिन पाउने भए । साथै राम्रो पारिश्रमिक पाउने भए । नेपालमा कला र मनोरञ्जन क्षेत्रसमेत वृद्वि हुने भयो । कलाकार उत्पादन र ट्रेनिङ गर्ने हाउसहरुसमेतको आम्दानी र क्रयशक्तिमा वृद्वि हुने भयो ।उनीहरुले कर दस्तुर तिर्ने भए । उनीहरुले प्रयोग गर्ने सवारीसाधनदेखि होटल बासजस्ता समग्र क्षेत्रमा योगदान दिने भएका कारण यसले मनोरञ्जन क्षेत्रसँगै नेपाली अर्थतन्त्रमा पनि योगदान पु¥याउने देखिन्छ ।
पर्यटनमा योगदान:
नेपालमा क्लिनफिड भएपछि यहाँको बजार एवं विज्ञापनको अवस्था बुझ्न र नेपाली भाषामा विज्ञापन बनाउन विदेशी मल्टिनेसनल कम्पनीका सञ्चालक,विज्ञापन दाताआउने भए । उनीहरु बस, प्लेन, ट्रेन जेबाट आएपनि नेपालमा बस्नुप¥यो, खानुप¥यो अनि राम्रो–राम्रो लोकेसनमा विज्ञापन सुटिङ गर्नुप¥यो । यसो हुँदा क्लिनफिडले नेपालको पर्यटन क्षेत्रसहित मुलुकको अर्थतन्त्रमा समेत योगदान पु¥याउने देखिन्छ ।यसरी नेपालमा वस्तुको बजार बुझ्न र विज्ञापन सुट गर्न अनि राम्रो–राम्रो लोकेसनमा विज्ञापन खिच्न आउँदा पर्यटन ट्राभल र ट्रेकिङ क्षेत्रमा काम गर्नेहरुको आम्दानी एवं रोजगारीका अवसरहरुमा वृद्वि हुने भयो । यसले गर्दा उनीहरुको परिवारदेखि आश्रितहरुको जीवन निर्वाहमा योगदान पुग्ने भयो ।साथै होटलबाट कर र दस्तुर संकलन हुँदा क्लिनफिडले पर्यटन क्षेत्र हुँदै नेपालको अर्थतन्त्रमा टेबा दिने भयो ।
सांस्कृतिक क्षेत्रमा योगदान:
क्लिनफिडअघि विदेशी च्यानलहरुमा सोही देश अनुकूल धर्म र संस्कृतिदेखि उनीहरुको आफ्नै कल्चर एवं फेसन मात्रै सो हुने गरेको देखन्थ्यो । अब नेपालमा प्रसारण हुने विज्ञापनहरु नेपाली माटो र परिवेश सुहाउँदो हुने भएका कारण यसले सांस्कृतिक विचलन हुने अवस्थाको अन्त्य गर्दै नेपाल विदेशी संस्कृतिको गुलजारबाट मुक्त हुने अवस्था देखिन्छ ।विशेष गरी नेपाली च्यानलहरुमा नेपाली धार्मिक स्थल र सांस्कृतिक क्षेत्र समेटेर विज्ञापन गर्न सकेमा,ती स्थानहरुमा विज्ञापन सुटिङ गर्न सकेमा अनि भिडियोहरु बनाउन सकेमा विदेशीहरुलाई थप आकर्षित गर्न सकिने देखिन्छ ।क्लिनफिडपश्चात् भारतीय रकी पाइन्ट अनि लेहंगा र घाघरहरु भारतीय महिलाहरुले लगाएकै देखासिकी गरी नेपाली बजार प्रभावित गर्ने अवस्था नआउन पनि सक्छ । यसले गर्दा नेपाली गलैँचा र गार्मेन्ट उद्योगहरु पुनः फस्टाउने मौका पाउने अवस्था आउँछ । त्यसैले रोजगारीदेखि विदेशी मुद्रा सञ्चितिमा थप मद्दत पुग्ने र नेपाललाई सांस्कृतिक उपनिवेश बनाउने खेलहरुको समेत कमी हुने देखिन्छ ।यसरी क्लिनफिड एक साध्य मात्रै नभएर साधन पनि हो, जसले नेपालको समग्र क्षेत्रमा गुणात्मक र सकारात्मक प्रभाव पार्दै देशलाई नै विकासको अग्रगतिमा लैजान सक्ने देखिन्छ । अब मात्रै यसको सफल र पूर्ण कार्यान्वयन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्