सुँगुर पनि भिडियो गेम खेल्न सक्षम



लन्डन, (एजेन्सी)  ।

सुँगुरहरू स्मार्ट प्राणीको रूपमा चिनिन्छन् । तर, भिडियो गेम खेल्नका लागि मस्तिष्कको शक्ति चाहिन्छ । तर, आश्चर्यको कुरा अनुसन्धानकर्ताहरूले सुँगुरले पनि भिडियो गेम खेल्न सक्ने तथ्य पत्ता लगाएका छन् । बेलायतको पड्र्यु युनिभर्सिटीमा चारवटा सुंगुरलाई एउटा साधारण जोय स्टिक भिडियो गेम खेल्ने प्रशिक्षण दिइएको छ । तिनीहरूले छिटै भिडियो गेम खेल्ने कला सिकेको देखेर अनुसन्धानकर्ताहरू छक्क परेका छन् ।

जर्नल फ्रन्टियर्स इन साइकोलोजीमा प्रकाशित यस नयाँ अध्ययन प्रतिवेदनमा ती चारवटा सुंगुरले उल्लेखनीय व्यवहार र मानसिक लचकता प्रस्तुत गरेको जनाइएको छ ।यस अनौठो अध्ययन तथा अनुसन्धानमा योर्कसायरका ‘ह्याम्लेट’ र ‘ओमलेट’ नामका दुई सुँगुर र ‘एवोनी’ तथा ‘आइभोरी’ नामक दुईवटा पेनपिन्टो सुंगुर प्रयोग गरिएका थिए । तिनीहरूले आ–आफ्ना थुतुनोबाट जोयस्टिक चलाएका थिए । यो अनुसन्धान मानव बाहेकका जनावरको योग्यता मापन गर्ने उद्देश्यमा आधारित रहेको छ ।

अनुसन्धानले सुँगुरहरू चलाख र भावनात्मक रूपमा परिष्कृत जनावर भएको तथा तिनीहरूले खेलको क्रममा नयाँ नियमहरूलाई पछ्याउन सकेको तथ्य पत्ता लगाएको हो । साथै, तिनीहरूले कुकुरले जस्तै कुनै पनि दिइएको आदेश आज्ञाकारी भएर पालना गर्ने गरेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्