हस्ताक्षर किर्ते आरोपमा अधिकृतसहित ३ कर्मचारी प्रहरी हिरासतमा



गोकुल घोरसाइने, बारा ।

नगरसभा सदस्यहरुको हस्ताक्षर किर्ते गरेको आरोपमा प्रहरीले आइतबार प्रमुख प्रशासकीय अधिकृतसहित ३ कर्मचारीलाई नियन्त्रणमा लिएर अनुुसन्धान थालेको छ ।बारा सिम्रौनगढ नगरपालिकाका मेयर विजयशंकर यादवसहित ४ जनामाथि किर्ते मुद्दा चलिरहेको छ । प्रहरीले सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवाल, लेखा अधिकृत सर्वेन्द्र चौधरी र योजना अधिकृत जितेन्द्र यादवलाई हिरासतमा लिएको हो ।

गत असारमा भएको नगरसभामा आवश्यक सदस्य संख्या नपुगेर बजेट पास हुन नसकेपछि नगरप्रमुख यादवको मिलेमतोमा अधिकृत जयसवालसहितले नगरसभा सदस्यहरुको हस्ताक्षर किर्ते गरेर आर्थिक वर्ष २०७७-०७८ को बजेट गत असारमा पारित गराएका थिए ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार लेखा अधिकृत चौधरी र योजना अधिकृत यादवलाई शुक्रबार र प्रशासकीय अधिकृत जयसवाललाई आइतबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । नगरप्रमुख यादवलाई भने यसअघि नै नियन्त्रणमा लिएर बयानपछि हाल तारेखमा छोडिएको उपरीक्षक गौतमले बताउनुभयो ।प्रहरी हिरासतमा रहेका तीनै जनालाई जिल्ला अदालत बाराबाट सात दिनको थप म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

‘आवश्यक बयानपछि थप अनुसन्धान गररे मेयर यादवसहित सबैलाई अदालतमा पेस गरिनेछ’, उहाँले भन्नुभयो– ‘दोषी पाइए कानुनअनुसार कारबाही हुनेछ ।’ नगरसभा सदस्यहरु अनुपस्थित रहेको अवस्थामा किर्ते हस्ताक्षरको आधारमा नगर सभा सदस्यहरुको उपस्थिति बनाएर बजेट पारित गरेको आरोपमा नगरप्रमुख यादवसहित कार्यालयका ३ जना कर्मचारीविरुद्ध प्रहरीमा किर्ते मुद्दा दर्ता भएको थियो ।परिषद् बैठकमा ६० जना सदस्यमध्ये उपस्थित भएका भनिएका ३१ जनामा पनि ५ जनाको हस्ताक्षर किर्ते रहेको दाबी गर्दै उपमेयर रिमादेवी कुशवाहासहित कार्यपालिका सदस्यहरुले प्रमुख यादवसहित उनीहरुमाथि मुद्दा दर्ता गराएका थिए ।बारा सिम्रौनगढ नगरपालिकामा ११ वटामध्ये एउटा वडा र नगर प्रमुख कांग्रेसले जितेको छ भने बाँकी १० सबै वडामा जनता समाजवादी पार्टीले जितेको छ ।

कार्यपालिका सदस्य कपिलदेव साहलगायत ५ जनाले आफुहरु बैठकमा उपस्थित नै नभएको तर उपस्थिति रजिस्टरमा आफ्नो किर्ते हस्ताक्षर गरेको दाबी गर्दै पुस १९ गते जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए ।उजुरीपछि प्रहरीेले किर्ते गरिएको भनिएको रजिस्टरको हस्ताक्षर परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको र कार्यपालिका सदस्य कपिलदेव साहको हस्ताक्षर किर्ते गरिएको प्रमाणित भएको प्रहरीले दाबी गरेको छ । नगर परिषद् सदस्य रम्भा देवी, रमावती कुशवाहा, पनादेवी चमइन र श्रीपती दुसाधिनको हस्ताक्षर पनि शंकास्पद रहेको प्रहरीले जनाएको छ ।सरकारी वकिल कार्यालयका प्रमुख महेन्द्रबहादुर थापाले नगरप्रमुख विजय यादव यसअघि नै अदालतमा उपस्थित भइसकेकाले हालका लागि तारेखमा छोडिएको जानकारी दिनुभएको छ । किर्ते अभियोगमा हाल प्रहरीले अनुसन्धान गरिरहेको र आरोप प्रमाणित भएमा दफा २७६ को उपदफा ३ को ‘ग’ अनुसार आरोपितहरुलाई ७ वर्षसम्म कैद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको अधिवक्ता राजेन्द्र कुशवाहाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्