बार्सिलोनाको सानदार जित



लन्डन, (एजेन्सी)।

क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हासिल गरेको छ ।
शनिबार राति भएको खेलमा कप्तान लियोनेल मेसी र ट्रिन्काओको समान दुई गोल तथा जुनियर फिर्पाेको एक गोलको सहयोगमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसमाथि ५–१ को सानदार जित निकालेको हो ।

बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको सो खेलको २९औं मिनेटमा बार्सिलोनाले ट्रिन्काओको गोलबाट अग्रता लिएको थियो । त्यस्तै, ३६औं मिनेटमा कप्तान मेसीले गोल गरे पनि भिएआरबाट मान्यता पाएन । पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमै मेसीले सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । तर, खेलको ५७औं मिनेटमा लुइस रिओजाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए ।त्यसपछि बार्सिलोनाले सात मिनेटको अन्तरमा तीन गोल गर्दै सहज जित निकाल्न सफल भयो । खेलको ७४औं मिनेटमा ट्रिन्काओले मेसीको पासलाई सदुपयोग गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । त्यसको दुई मिनेटपछि नै कप्तान मेसीले एन्टोइन ग्रिजम्यानको पासमा गोल गर्दै खेललाई ४–१ को आरामदायी अवस्थामा ल्याएका थिए । त्यस्तै, खेलको ८०औं मिनेटमा जुनियर फिर्पाेले ग्रिजम्यानको पासमा गोल गर्दै बार्सिलोनालाई ५–१ को फराकिलो जित दिलाए । यो जितसँगै बार्सिलोनाले २२ खेलबाट ४६ अंक जोडेको छ । पराजित एलाभेसको भने २२ अंक मात्र रहेको छ ।

शनिबारै भएको अर्को खेलमा घरेलु टोली ग्रानाडालाई २–१ गेलअन्तरले पराजित गर्दै एट्लेटिको मेड्रिडले पनि तीन अंक बटुल्यो । एट्लेटिकोको जितमा मार्काेस लोरेन्टे र एन्जल कोर्रेयाले गोल गरेका थिए । घरेलु टोलीका लागि याङ्गेल हेरेराले एक गोल फर्काए । खेलको ६३औं मिनेटमा मार्काेस लोरेन्टेको गोलबाट एट्लेटिकोले खेलमा १–० को अग्रता लिन सफल भएको थियो । उनले कप्तान कोकीको पासमा गोल गरेका थिए । खेलको ६६औं मिनेटमा याङ्गेल हेरेराले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यस्तै, ७४औं मिनेटमा एन्जल कोर्रेयाले लोरेन्टेको पासमा गोल गर्दै एट्लेटिकोलाई २–१ को महत्वपूर्ण जितसहित महत्वपूर्ण तीन अंक दिलाए । जितसँगै एट्लेटिकोको २१ खेलबाट ५४ अंक भएको छ । पराजित ग्रानाडाको २३ खेलबाट ३० अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्