डोटीको प्याराग्लाइडिङमा पर्यटकको आकर्षण



विमल विष्ट, डोटी ।
डोटीको जोरायल गाउँपालिका–२ रुपसकाडामा प्याराग्लाइडिङ सञ्चालन भएपछि पर्यटकहरूको आर्कषण बढ्दै गएको छ । कम्तिमा पनि एक महिनादेखि बुडर तथा रुपसकाडाका डाँडामा प्याराग्लाइडिङ शुरू गरिएपछि आन्तरिक पर्यटक तथा प्याराग्लाइडिङ गर्नेहरूको आकर्षण बढ्न थालेको छ । यहाँका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी लगायतका क्षेत्रका स्थानीयको रोजाइमा प्याराग्लाइडिङ पर्न थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरतबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्याराग्लाइडिङ उडान गर्न शुरू गरेपछि आन्तरिक पर्यटकहरू बढ्दै गएका छन्, अहिले यहाँ चहल पहल बढ्नुका साथै होटेल व्यवसाय पनि राम्रै चलेको छ ।”

अहिले दैनिकजसो ७-८ जना आन्तरिक पर्यटकहरूले दैनिक प्याराग्लाइडिङ उडान भर्ने गरेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले जनाएको छ । कम्तिमा पनि २० मिनेटको उडान अवधि रहेको उक्त प्याराग्लाइडिङ उडानमा बुडर, छतिवन, रुपसकाडा, बाजीलेक तथा डडेल्धुरा जिल्लाका भित्री मधेसमा रहेका पर्यटकीय क्षेत्रको अवलोकन पनि सहजै गर्न सकिने भएकाले प्याराग्लाइडिङ उडान भर्न आन्तरिक पर्यटकहरू बढी आउन थालेको जोरायल गाउँपालिका–२ बुडरका स्थानीयबासी तथा होटेल व्यवसायी शंकर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “हिँडेर निकै टाढा रहेका यहाँका पर्यटकीय क्षेत्रहरू आकाशबाट आँखै अगाडि देख्न सकिने भएको पर्यटकहरूको आर्कषण बढेको हो, प्याराग्लाइडिङ उडानले राम्रो अनुभव भएको छ ।’

समितिका अनुसार प्याराग्लाइडिङका लागि रु चार हजार टिकट तोकिएको छ भने रुपस काडामा अहिले दैनिक दुईवटा प्याराग्लाइडिङ टेन्डमबाट उडान सञ्चालन भइरहेको छ । छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समिति तथा स्काइलाइन प्राली पोखराले पर्यटकहरूलाई प्याराग्लाइडिङ गराउँदै आएका छन् । डोटीको बुडर क्षेत्रमा प्याराग्लाइडिङका लागि निकै उयुक्त मौसम तथा ठाउँ भएकाले यहाँको प्याराग्लाइडिङ राम्रो फस्टाउने स्काइलाइन प्राली पोखरा प्याराग्लाइडिङका पाइलट भुवन गाहाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्याराग्लाइडिङका लागि रुपसकाडा उपयुक्त ठाउँ छ, यहाँको पर्यटन विकास तथा प्रवद्र्धनका लागि प्याराग्लाइडिङ भविष्यमा राम्रो हुनेछ ।’ स्काइलाइन प्राली तीन वर्ष अघिदेखि नै कम्पनी दर्ता गरी प्याराग्लाइडिङ थालेको हो । रुपसकाडामा हावाको वेग तटस्थ हुँदा सहज प्याराग्लाइडिङ गर्न सकिने तथा यहाँको हावाको वेगले प्याराग्लाइडिङ उडान भर्न सहज हुँने गरेको अर्का पाइलट विष्णु तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै ठाउँमा हावाको वेगले प्याराग्लाइडिङ उडान भर्न समस्या हुन्छ तर यहाँ सबै मिलेकोले उडान भर्न आनन्द आउने गरेको छ ।”

यहाँको प्याराग्लाइडिङबाट हिमाल, हरियाली डाँडाकाडा सुन्दरबस्ती, तराईका फाँट, नदी खोलाका साथै अन्य रमणीय स्थलहरू देख्न सकिने भएकाले स्वदेशी पर्यटकको आकर्षण बढेको जोरायल गाउँपालिका–२ का वडा अध्यक्ष मानबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो क्षेत्र आफंैमा राम्रो र सुन्दर छ, त्यसैमा प्याराग्लाइडिङबाट तराईदेखि पहाडका सबै क्षेत्रको नजिकैबाट अवलोकन गर्न सकिने भएकाले पर्यटकको आर्कषण बढ्दै गएको छ ।’ प्याराग्लाइडिङको आर्कषण बढाउन थप कार्यक्रमहरू वडाले अघि सार्ने योजना बनाएको वडाअध्यक्ष मल्ले जानकारी दिनुभयो । अहिले यहाँ खासै चिसो पनि नभएको तथा केही दिनपहिले यहाँका अग्ला डाडाहरूमा हिउँ परेका कारण पनि हिउँ हेर्न तथा ठाउँ हेर्नका लागि प्याराग्लाइडिङ गर्न पर्यटक आउन थालेको अर्का स्थानीय तथा व्यापारी लोकबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्