विन्ध्यवासिनी संगीत सम्मानको घोषणा



विन्ध्यवासिनी म्युजिक प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यवासिनी म्युजिक अवार्डले यस वर्ष पनि निरन्तरता पाउने भएको छ।एघारौं विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष चैत २१ राजधानीमा हुने भएको छ ।

अवार्डका लागि विभिन्न सम्मानको निर्णय गरी घोषणा गरिएको छ। विन्ध्वासिनीले म्युजिकले अघिल्ला वर्ष सम्मानित भएकाहरुले सिफारिसबमोजिम हरेक वर्षको सम्मान घोषणा गर्नेबमोजिम शनिबार राजधानीमा आयोजित भेलापछि ती सम्मानको घोषणा गरेको हो। कम्पनीद्वारा आयोजित भेलामा यसअघि विभिन्न विधामा सम्मानित भएकाहरुको सिफारिस र निर्णयअनुसार यस वर्षको विन्ध्यवासिनी म्युजिक लाइफ टाइम अचिभमेन्ट अवार्ड नगद १ लाख रुपियाँसहित गायक योगेश वैद्यलाई प्रदान गरिने भएको छ।

त्यसै गरी, यस वर्षको विन्ध्यवासिनी संगीत साधना सम्मान नगद ५० हजार रुपियाँसहित गायिका कुन्ती मोक्तानलाई प्रदान गरिने भएको छ। विन्ध्यवासिनी संगीत रत्न सम्मान नगद २५ हजार रुपियाँसहित लोकगायिका मण्डवी त्रिपाठीलाई प्रदान गरिने भएको छ। त्यस्तै, विन्ध्यवासिनी संगीत कला पत्रकारिता पुरस्कार नगद २५ हजार रुपियाँसहित अन्नपँर्ण पोस्टका पत्रकार अनन्त वाग्लेलाई प्रदान गरिने भएको छ।मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा हुने रमपम विन्ध्यवासिनी म्युजिक अवार्डमा असहज परिस्थिति कारण यस वर्ष केही विधा हटाइएको आयोजक संस्थाका सञ्चालक सुवास रेग्मीले जानकारी गराए। रेग्मीले समारोह भव्यरूपमा आयोजना गर्ने बताए। त्यसै गरी, आयोजक संस्थाकी अध्यक्ष लिना शर्मा रेग्मीले यस वर्ष अवार्डको आवेदन निःशुल्क गरिएको र मनोनयनको संख्याअनुसार प्रतिमनोनयन बराबर १ हजार रुपियाँका दरले बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस्