प्राकृतिक औषधि अश्वगन्धा



अश्वगन्धा उष्णक्षेत्रमा पाइने बुट्यान वर्गको वनस्पति हो । यसको बोट तीनदेखि पाँच फिट अग्लो हुन्छ । झन्डै आँकजस्तो देखिने अश्वगन्धाको पात सेता झुसले ढाकेको ४ देखि ६ इन्च लामो हुन्छ । अश्वगन्धामा कार्तिक महिनामा गुच्छाको रूपमा फूल फुल्ने गर्दछ । प्रायः प्रत्येक गुच्छामा ५ वटा फूल हुन्छ । यसको चोपयुक्त जरा आधादेखि एक फिटसम्म लामो एक–डेढ इन्च मोटो हुन्छ । बाहिर खरानी रंगको यसको जरा, भित्र सेतो रंगको हुन्छ ।

जराबाट घोडाको गन्ध आउने भएकोले नै यसलाई अश्वगन्धा भनिएको हो । आयुर्वेदमा यसलाई नशायुक्त औषधिको रूपमा वर्गीकरण गरिएको छ । यौन र वीर्य दुर्बलता तथा नपुंसकता, मुच्र्छा, भ्रम र अनिद्रा, बाथ र नसारोग, शारीरिक कमजोरी, गर्भाशय र योनि सुन्निएको, योनिबाट सेतो पानी बग्ने, स्त्रीले गर्भधारण गर्न नसक्ने, अजीर्ण (अपच, भोक नलाग्ने, पेट दुखेको), क्षयरोग, बच्चा दुब्लाउँदै जाने, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप, रक्तविकार आदिको उपचारमा यसको जराको चूर्ण सेवन गरिन्छ तथा पातलाई चियाजस्तै पकाएर खाइन्छ ।यसको फलको बीउ दूधमा राख्दा दूध तत्काल दहीमा परिणत हुन्छ । यसको लेपले सुन्निएको, फोका, गाँठा–गिर्खा, दुखेको आदिको उपचार गरिन्छ । अश्वगन्धाको चूर्णले मांसपेशी तथा नसालाई शक्ति प्रदान गर्ने गर्दछ । त्यस्तै जोर्नीको बाथलगायत सबै किसिमको बाथ, पक्षघात, साइटिका, धनुष्टंकार, युरिकएसिड यौन दुर्बलता, शुक्रकीटको कमी आदि रोगहरूको उपचारमा पनि यसको एक चम्चा चूर्णलाई दूध तथा महसँग मिलाएर दिनमा दुईपटक खाने गरिन्छ ।

आयुर्वेदमा अश्वगन्धा यौनवद्र्धक, वृद्धवृद्धाहरूका लागि रसायन (क्षय भएका धातुहरू पोषण गर्ने, बुढ्यौली रोक्ने, यौनक्षमता वृद्धि गर्ने) को रूपमा प्रयोग हुन्छ भने बाथरोग तथा मानसिक विकारमा यसको प्रयोग हुन्छ । सन् १८८० को दशकमा डा. ट्रेबुटले एल्गरको अस्पतालमा अश्वगन्धालाई निद्रा लगाउने, सम्मोहित पार्ने औषधिको रूपमा प्रयोग गर्थे । औषधिको रूपमा यसको जरा प्रयोग हुन्छ । अश्वगन्धामा पाइने मुख्य तत्वहरू अश्वगन्धामा अल्काल्वाइडहरू कुस्कोहाइग्रिन, एनाहाइग्रिन, ट्रोपिन, सिउडोट्रोपिन, एनाफेरिन पाइन्छ भने स्टेरोइडयुक्त ल्याक्टोनहरू– विथानोलाइड्स, विथाफेरिन पनि सक्रिय जैविक रसायनहरू हुन् ।
अश्वगन्धामा भएको विथानोलाइड्सले शरीरमा भएको हर्मोनहरूलाई सन्तुलित अवस्था राख्ने काम गर्दछ, जसले गर्दा शारीरिक प्रक्रियाहरू नियन्त्रित हुन्छन् । शरीरमा कुनै हर्मोन बढी उत्पादन भएमा त्यसको उत्पादन रोक्ने र कम भएमा उत्पादन गर्न सम्बन्धित कोषलाई उत्तेजित गर्दछ । त्यस्तै यसले शरीरमा क्षय भएका धातुहरू (रस, रक्त, मांस आदि) को वृद्धि गर्दछ र वृद्धहरूलाई पुनः जवान बनाउँछ ।

एक अनुसन्धानमा १ सय १ जना ५० देखि ५९ वर्षसम्मका पुरूषहरूलाई दैनिक अश्वगन्धाको जराको धूलो सेवन गराइएको थियो । एक वर्षसम्मको सेवनमा ती पुरूषहरूको हेमोग्लोबिन, रक्तकण तथा कपालको मेलानिनमा सुधार भएको पाइयो । त्यस्तै रगतमा कोलेस्ट्रोलको मात्रा र इराथ्रोसाइट सेडिमेन्टेसन दर (ईएसआर) उल्लेख मात्रामा घटेको पाइयो । साथै ७१ दशमलव ४ प्रतिशतमा यौनक्षमता वृद्धि भएको पाइयो । अश्वगन्धाले स्नायुहरूलाई पोषण प्रदान गर्ने र यसका क्रियाहरूलाई सुचारू राख्दछ । अतः चिन्ता र नैराश्यतामा यसको प्रयोग उपयोगी देखिएको अनुसन्धानहरूले पनि देखाएको छ ।

कृत्रिम तवरले तनाव उत्पन्न गराइएको मुसामा गरिएको अध्ययनमा अश्वगन्धाको प्रयोगले तनाव घटेको देखाएको छ । यसै गरी अश्वगन्धामा एन्टिअक्सिडेन्ट र क्यान्सर प्रतिरोधात्मक गुण रहेको तथ्य अनुसन्धानले प्रमाणित गरिसकेको छ । अश्वगन्धा उच्च रक्तचाप, अल्सर, पार्किसन रोग, दम, पाठेघरसम्बन्धी रोगमा पनि उपयोगी देखिएको छ । अश्वगन्धा उष्ण क्षेत्रमा पाइने बुट्यान वर्गको वनस्पति हो ।
– रुबिना गौतम, काभ्रे

प्रतिक्रिया दिनुहोस्