लेस्टरद्वारा लिभरपुल स्तब्ध



लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिगको खेलमा लेस्टर सिटीद्वारा लिभरपुल स्तब्ध बनेको छ । लेस्टरले एक गोलले पछि परेको स्थिति उल्ट्याएर बलियो लिभरपुलसँग तीन अंक खोस्न सफल भएको हो । किङ पावर स्टेडियममा घरेलु टोली लेस्टरको जितमा जेम्स म्याडिसन, जेमी भार्डी र हार्भे बार्नसले गोल गरे ।

लिभरपुलका लागि खेलमा पहिलो गोल भने मोहम्मद सलाहले गरेका थिए । खेलको ६७औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । तर, लेस्टरले आठ मिनेटको अन्तरमा तीन गोल गर्दै सानदार जित निकाल्न सफल भयो ।

खेलको ७८औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यस्तै, ८१औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई २–१ को अग्रता दिलाए । खेलको ८५औं मिनेटमा आर्भे बार्नेसले गोल गर्दै लेस्टरलाई ३–१ को पूनरागमन जित दिलाए । यो जितसँगै लेस्टरले २४ खेलबाट ४६ अंक जोडेको छ । पराजित लिभरपुलको भने २४ खेलबाट ४० अंक छ ।

प्रतिक्रिया दिनुहोस्