जेठमा सम्पन्न गर्नुपर्ने साप्सुखोला मोटरेवल पुल ढलानको तयारीमा



रामधन राई, खोटाङ ।

आगामी जेठ १७ गते निर्माण सम्पन्न गर्ने म्याद रहेको खोटाङस्थित साप्सुखोलामा निर्माणाधिन मोटरेवल पुल ढलानको तयारीमा पु-याईएको छ । दिपु्रङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमानामा निर्माणधिन पुल ढलानको लागि फर्मा बिछ्याउने काम धमाधम सुरु भएको छ ।

गाउँपालिकाको ५ करोड ६० लाख १० हजार ५ सय ४५ रुपैयाँ लागतमा ४० मिटर लम्बाई र ६ मिटर चौडाईको प्रिस्ट्रेल बिम मोटरेबल पुलको काम गत वर्षको कार्तिकबाट सुरु गरिएको थियो । निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिको प्रोजेक्ट इन्चार्ज हरि बरालका अनुसार फागुन पछाडी पुलको स्ल्याव ढलान कार्यले तीब्रता पाउनेछ ।

प्रतिशतको आधारमा हालसम्म पुलको काम ३५ प्रतिशत भएको बरालको भनाई छ । पुल निर्माण कार्यका लागि स्थानीय सडक पुल सहयोग ईकाई (एलआरबिपी)ले प्राविधिक सहयोग गरिरहेको छ ।

जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेलवजार तथा खानीडाँडा विमानस्थल र गाउँपालिकाको याम्खा जोड्ने सवै भन्दा छोटो दुरीको सडकबीचमा उक्त पुल निर्माणाधिन छ ।

खोलाका कारण हिउँदमा मात्र सवारी साधन चल्ने उक्त सडकमा पुल नहुँदा वर्षाद सुरु भएसँगै यातायात ठप्प हुने गरेको छ । साप्खुखोलामा पक्की पुल नहुँदा सो गाउँपालिकासहित खोटेहाङ, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका लागि बिकासको बाधक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्