वीरगंज-पथलैया व्यापारिक मार्गको अवधि फेरि ६ महीना थप



कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज–पथलैया व्यापारिक मार्गको अवधि फेरि ६ महीनाको लागि थपिएको छ ।

तोकिएको समयमा कार्य सम्पन्न नभएपछि योजना कार्यालय पथलैयाले ६ महीनाको म्याद थपको लागि सिफारिश गरी पठाएको र सो सदर भएर आएको बताइएको छ। व्यापारिक मार्ग विस्तार योजना वीरगंज–पथलैया ६ लेन सडक कार्यालय पथलैयाका सूचना अधिकृत इन्जिनीयर सञ्जीव कुमार गुप्ताले २०७३ असार २९ गतेदेखि योजनाको काम शुरू भएको र अहिलेसम्म ७० प्रतिशत सम्पन्न भएको बताउनुभयो ।

दुई वर्ष अवधिमा निर्माण कार्य सम्पन्न हुनुपर्नेमा तेस्रो मधेस आन्दोलन र नाकाबन्दीका कारण प्रभावित भएको र पछिल्लो चरणमा कोरोना सङ्क्रमणले काम हुन नसकेपछि म्याद थप गरिएको बताउनुभयो । ३१ किलोमिटर लामो वीरगंज–पथलैया व्यापारिक मार्गको ७० प्रतिशत काम सम्पन्न भएको सूचना अधिकारी गुप्ताले बताउनुभयो ।

अहिले थप गरिएको म्याद अन्तिम भएको पनि उहाँले बताउनुभयो । यसअघि पनि पटक–पटक विभिन्न कारण देखाएर व्यापारिक मार्ग निर्माण कार्यको म्याद थप हुँदै आएको छ। पथलैयादेखि परवानीपुर भएर सुक्खा बन्दरगाह र परवानीपुरदेखि वीरगंज सम्मको ६ लेन सडक निर्माणका लागि सात वटा ठेकेदार कम्पनीले काम गर्दैछन्। ६ महीनाको म्याद थप भएपछि यो योजना २०७८ साउन मसान्त भित्र सम्पन्न गर्नुपर्ने सूचना अधिकृत गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्