अफगानिस्तान–इरान सीमामा १०० बढी तेल ट्याँकरमा आगलागी



इस्लाम क्वाला, अफगानिस्तान ।

इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्याँकरमा आगलागी भएको छ । अधिकारीहरुका अनुसार उक्त आगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

अफगानिस्तानको पश्चिमी शहर हेरातबाट करिब १२० किलोमिटर टाढा इरानसँगको सीमा इस्लाम क्वालामा शनिबार अपराह्न उक्त आगलागी भएको थियो । आगो नियन्त्रणमा ल्याइए पनि उक्त घटनाको छानबिन र अनुसन्धान शुरु भइसकेको अधिकारीहरुले बताएका छन् ।

हेरात प्रान्तका गभर्नरका प्रवक्ता जैलानी फरहादले आगलागीबाट १०० वा २०० ट्याँकर ध्वस्त भएको खबर प्राप्त भएको जनाउँदै आगलागीबाट सोचेभन्दा बढी नोक्सानी भएको बताउनुभयो । उहाँले घटनाको अनुसन्धानबाट मात्र यथार्थ विवरण प्राप्त हुनसक्ने जानकारी दिनुभयो ।

उहाँले उक्त आगलागीका कारण करिब २० व्यक्ति घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको पनि बताउनुभयो ।

सामाजिक सञ्जालमा राखिएका भिडियो फुटेजमा आकाशमा धुँवाको ठूलो मुस्लो देखिएको छ । अफगान अर्थ मन्त्रालयले आगलागीबाट ठूलै आर्थिक क्षति भएको जनाउँदै इन्धन, ट्याँकर र भन्सार कार्यालयहरुमा क्षति पुगेको बताएको छ ।

हेरात चेम्बर अफ कमर्शका प्रमुख युनुस क्वाजी जादाले प्रारम्भिक विवरणमा दशौं लाख डलर बराबरको क्षति पुगेको बताउनुभयो । हेरात प्रान्तका धेरैजसो स्थानमा आइतबार विद्युत आपूर्ति अबरुद्ध भएको थियो ।

इस्लाम क्वाला अफगानिस्तानको एउटा महत्वपूर्ण व्यापारिक नाका हो । यस नाकाबाट इरानसँगको अधिकांश व्यापारिक कारोबार हुने गर्दछ ।

अमेरिकी प्रतिबन्धका बाबजुद इरानबाट तेल र ग्यास आयात गर्न अमेरिकाले अफगानिस्तानलाई छुट दिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता सईद खाटीबजादेहले आगलागीको घटना हुँदा इरानतर्फको सीमालाई केही समय खुला गर्नु परेको जानकारी दिनुभयो ।

दुबै मुलुकका अग्निनियन्त्रकलाई तत्काल परिचालन गरिएका पनि उहाँले बताउनुभयो । उहाँले आगलागीको घटना भएलगत्तै नजिकैको सुरक्षा जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्