अस्पताल जान नपाएकाहरुलाई घर नजिकै स्वास्थ्य परीक्षण



न्युज अफ नेपाल, ललितपुर ।
कोरोना महामारीले गर्दा अस्पताल जान नसकेका स्थानीयहरु बृहत निशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भएका छन् ।

ललितपुर महानगरपालिका– १६ ले अरनिको समाजसंग मिलेर माघ १७ गतेदेखि प्रत्येक शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । त्यस  अन्तर्गत शनिबार बालिफल स्थित अशोक हलमा बाल, छाला तथा आँखा रोगको परीक्षण गरिएको थियो । सो शिविरबाट १ सय १४ जना लाभान्वित भएको समाजका महासचिव डा. सुशील प्रजापतिले जानकारी दिनुभयो । ति मध्ये ८ जना बालबालिका, ४४ जनाले आँखा र ६० जनाले छाला रोगको परीक्षण गराएको थियो ।

तीन जनामा मोतियाबिन्दु भएकोले शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । तिनिहरुलाई वडाको सहयोगमा कीर्तिपुर अस्पतालले सस्तो मूल्यमा शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको पनि महासचिव डा. प्रजापतिको भनाई रहेको छ । परीक्षण गराउने मध्ये अधिकाशं कोरोना संक्रमणले गर्दा अस्पताल जान नपाएका वा नगएका ५० वर्ष नाघेका मानिसहरु रहेको पाइएको छ।शिविरमा पनि औषधी पनि निशुल्क वितरण गरिएको थियो ।

स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरुमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अभियानकैै रुपमा शिविर आयोजना गरिएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । वडाअध्यक्ष शाक्यका अनुसार शिविरबाट १६ वडाका साथै आसपासका वडाहरु क्रमशः ८,९, ११, १२, १९ र २० का मानिसहरु पनि लाभान्वित भएका छन् ।

आउँदो शनिबार नागबहालमा स्त्री रोग सम्बन्धी शिविर, फागुण १५ गते दौबहालमा पेट तथा कलेजो सम्बन्धी शिविर, फागुण २२ गते मंगलबजारमा ज्येष्ठ नागरिकहरुको लागि नशा, युरोलोजी, मधुमेह र जनरल सम्बन्धी शिविर सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्