सुनचाँदी व्यवसाय धरापमा व्यावसायिक संगठनबीचको सहकार्यमा जोड



नेपाल समाचारपत्र, ललितपुर ।

व्यवसायीको समस्या समाधान र हकहितका लागि व्यावसायिक संघसंस्थाबीच सहकार्य र समन्वय गर्दै जानुपर्नेमा सम्बद्ध व्यवसायीले जोड दिएका छन् ।ललितपुर सुनचाँदी व्यवसायी संघले ललितपुरमा आयोजना गरेको विभिन्न संघसंस्थाका नवनिर्वाचित पदाधिकारीको स्वागत तथा बधाई कार्यक्रममा उनीहरुले सो कुरामा जोड दिएका हुन् ।

सो अवसरमा उनीहरुले कोरोना महामारीले गर्दा थला परेको व्यवसाय उकास्न, आफ्नो हक अधिकार स्थापित गर्न र राज्यको प्रशासनिक संयन्त्र र नीतिका कारण व्यवसायमा परेको नकारात्मक प्रभावलाई हटाउन व्यवसायीबीच आपसी सहकार्य, समन्वय र कार्यगत एकताको खाँचो पनि औंल्याए ।नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माणिकरत्न शाक्यले दैनिक १० किलो सुन आपूर्ति गर्ने सरकारको नीतिका कारण सुनचाँदी व्यवसाय धरापमा परेको चर्चा गर्दै यस्तो अवस्था अन्त्यका लागि व्यवसायीको एकता आवश्यकता रहेको धारणा राख्नुभयो ।उहाँले दैनिक ३५ किलो सुन आपूर्ति नगर्ने हो भने नेपालको मौलिक र परम्परागत सुनचाँदी व्यवसाय धराशयी बन्दै जाने खतरा पनि औल्याउनुभयो ।

सो अवसरमा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले कोरोना महामारी र सरकारको प्राथमिकतामा नपर्दा ललितपुरको हस्तकला, संस्कृति र पर्यटन सम्बद्ध व्यवसाय धरापमा परेको र जिल्लाको दक्षिणी भेगको सम्भावनालाई राज्यले पुरै बेवास्ता गर्दै आएको बताउनुभयो । समग्र व्यवसायीहरु एकजुट भएर अघि बढ्नुको विकल्प नभएको पनि अध्यक्ष शाक्यको धारणा रहेको छ ।

ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यले अनेक समस्या र संकटसँग जुध्दै अघि बढ्नुपरेको अवस्थामा एक व्यवसायी संस्थाले अर्को व्यवसायी संस्थाप्रति सम्मान र सहकार्य गरेर अघि बढ्ने संस्कारलाई विकसित गर्नुपर्नेमा जोड दिनुभयो । संघका उपाध्यक्ष मोतिमान शाक्य ‘हेम’ ले सुनचाँदी व्यवसायीले भोग्नुपरिरहेको विविध समस्यामा राज्यको ध्यानआकृष्ट हुनुपर्ने बताउनुभयो । सो अवसरमा महासंघ, ललितपुर चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीलाई कार्यकालको शुभकामना व्यक्त गर्दै नेवाः परम्परा अनुसार खादा ओढाई सगुन दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्