सिमाना हेरफेर तथा विस्तार



नेपाल समाचारपत्र, तनहुँ ।

व्यास नगरपालिकाको एउटा वडा विभाजन गर्ने र केही वडाको भागलाई अन्य वडामा समावेश गर्ने निर्णय भएको छ । व्यास नगरपालिका–६ लाई दुईवटा वडामा विभाजन गर्ने प्रस्ताव नगरसभाले सर्वसम्मत पारित गरेको थियो ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेका अनुसार साविक श्याम्घाको वडा नम्बर १, २, ३ र ४ लाई एउटा वडा बनाउने निर्णय भएको छ । वडाको शिशाघाटलाई केन्द्र तोकिनेछ भने ५, ६, ७, ८ र ९ लाई अर्को वडा बनाएर श्याम्घा हटियालाई केन्द्र निर्धारण गरी प्रदेश सरकार हुँदै संघीय सरकारसमक्ष पठाउने निर्णय भएको उहाँले बताउनुभयो ।व्यास–८ को कोटथोक गाउँलाई ७ नम्बर वडा र व्यास–९ को छापलाई व्यास नगरपालिका–११ मा जोड्ने सभाबाट निर्णय पारित भएको उहाँले बताउनुभयो । त्यस्तै व्यास–११ को पातलगाउँलाई ९ नम्बर वडामा गाभ्ने निर्णय भएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार छिमेकी पालिकाको वडाका केही भागलाई व्यास नगरपालिकामा समावेशसम्बन्धी स्थानीय तहमा प्रस्ताव पठाउने निर्णयसमेत भएको छ ।नगरसभाले सोहीअनुरूप भानु नगरपालिका–१३ को टुटेपानीलाई व्यास नगरपालिका–८ मा समावेश गर्ने प्रस्ताव गरेको छ । बन्दीपुर गाउँपालिका–३ को तानुङ भन्दा परको दुईवटा गाउँलाई व्यास नगरपालिका–१४ र भानु नगरपालिका–६ मुलपानीका दुई वटा टोललाई व्यास १२ मा गाभ्ने प्रस्ताव गरिएको नगरपालिकाले जनाएको छ ।

वडा सिमाना हेरफेरका लागि नगरपालिकाका उपप्रमुख मीरा जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ । गठित समितिको प्रतिवेदन साथै सर्वदलीय बैठकको निर्णयबमोजिम नगरपालिकाको आन्तरिक तथा छिमेकी गाउँपालिका तथा नगरपालिकाहरुका आंशिक क्षेत्रहरुसमेत हेरफेर हुने गरी नगरपालिकाका विभिन्न वडाहरुको सिमाना हेरफेर तथा वडा विस्तार गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।स्थानीय सरकार सञ्चाल ऐनअनुसार गाउँपालिका र नगरपालिकाको संख्या वा सिमाना हेरफेर गर्नुपरेमा प्रभावित हुने गाउँपालिका तथा नगरपालिकाको सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमा पठाउनुपर्ने उल्लेख गरिएको छ । गाउँपालिका र नगरपालिकाको संख्या र सिमाना हेरफेर गर्नुपर्ने भएका गाउँपालिका तथा नगरपालिकाको निर्वाचन हुने मितिभन्दा कम्तीमा एक वर्षअगावै गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

त्यस्तै, नगरसभाले चालु आवको संशोधित बजेट तथा कार्यक्रम १ अर्ब ५७ करोड २७ लाख १२ हजार रुपियाँलाई यथावत कायम गरी संशोधित आएमा संघ सरकार तथा जिल्ला समन्वय समितिबाट प्राप्त हुने २ करोड २८ लाख १९ हजार रुपियाँ थप गरी आन्तरिक आयमा सोही बराबरको घटाइएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाको बजार क्षेत्र २ र ३ नम्बर वडामा ८ आना भन्दा बढी क्षेत्रफलमा निर्माण हुने व्यववसायिक प्रयोजनका भौतिक संरचनाहरुको निर्माण स्वीकृति प्रदान गर्दा ७० प्रतिशतभन्दा बढी जग्गा उपयोग गर्न नपाउने गरी स्वीकृति दिने नगरसभाबाट निर्णय भएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । तर, ५० प्रतिशतभन्दा बढी जग्गा उपयोग गरी संरचना निर्माण गर्ने जग्गाधनीले अनिवार्यरूपमा अन्डर ग्राउन्ड पार्किङको व्यवस्था मिलाउनुपर्ने मापदण्ड निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्