भ्रष्टाचार नियन्त्रणका लागि अभियान



नेपाल समाचारपत्र, दोलखा ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोना महामारी र पार्टी भित्रैको प्रतिपक्षको अवरोधका बाबजुद सरकारले मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तर अघि बढाइरहेको दाबी गर्नुभएको छ । सरकारको डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम शुभारम्भअन्तर्गत स्मार्ट दोलखा निर्माण अभियान उद्घाटन गर्नुहुँदै शनिबार उहाँले सो कुरा बताउनुभएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले मुलुकको विकास र समृद्धि अभियानकै कार्यक्रमअन्तर्गत देशको हरेक पालिका, सामुदायिक विद्यालय र स्वास्थ्य चौकीहरुमा द्रुत गतिको इन्टरनेट जडान गर्ने र इन्टरनेटका माध्यमबाट स्थानीय सरकार, विद्यालय र स्वास्थ्य चौकीहरुले गुणस्तरीय सेवा प्रदान गर्ने वातावरण निर्माणका लागि स्मार्ट दोलखा निर्माण अभियान शुभारम्भ गरिएको बताउनुभएको थियो ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रमको शुभारम्भ दोलखाबाटै गर्नुको कारणबारे प्रष्टीकरण दिनुहुँदै उहाँले भन्नुभयो– ‘आफ्नो निर्वाचन क्षेत्र र गृहजिल्ला भएकैले मात्र नभई हिमाली जिल्लासमेत भएकाले स्मार्ट दोलखा निर्माण अभियान कार्यक्रमको नामबाट शुभारम्भ गरिएको हो ।’यो अभियान देशको ७७ वटै जिल्लामा शुरु हुनेछ । उहाँले मन्तव्यकै क्रममा कार्यक्रममा उपस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष र नेपाल टेलिकमका प्रबन्ध निर्देशकलाई आफू मन्त्री रहे वा नरहे पनि कार्यक्रम सबै जिल्लामा सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

मुलुकमा भ्रष्टाचार अन्त्यको लागि ऐन कानुनमात्र प्रयाप्त नहुने उल्लेख गर्नुहुदै मन्त्री गुरुङले त्यसको लागि पेपर लेस, फेस लेस अभियान आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गतनै नागरिक एपको परिकल्पना गर्नुभएको र त्यसले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने मन्त्री गुरुङको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्