‘विकास र जनताविरोधी तत्व सडकमा भौंतारिँदै’

बुटवलमा ओली समूहको शक्ति प्रदर्शन



यमलाल भुसाल, बुटवल ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बुटवलको सभा हेर्न, जनसहभागिता कस्तो हुन्छ बुझ्न र जनसागर हेर्न यहाँ आउन आह्वान गर्नुभयो ।
उहाँले विकास र जनताविरोधी षड्यन्त्रकारी तत्व अहिले सडकमा भौंतारिएको बताउनुभयो । बहुमतको प्रधानमन्त्रीको हिसाबले काम गर्न नदिएकाले संसद् विघटन गरेको स्पष्ट पार्नुभयो । संसद् विघटन संविधानको धारा ७६ अनुसार संवैधानिक र प्रधानमन्त्रीको अधिकार प्रयोग गरी गरिएको खुलासा गर्नुभयो ।
मुलुक विशेष परिस्थितिबाट गुजे्रको अवस्था छ प्रतिनिधिसभा चल्नै नसक्ने अवस्था भएपछि विघटन गरेको उहाँले दाबी गर्नुभयो ।

सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको लुम्बिनी प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजना गरेको शक्ति प्रदर्शन सभामा बोल्दै उहाँले देश बनाउन नखोज्ने तत्वहरु पार्टी छोडेर सडकमा भौंतारिएको बताउनुभयो ।प्रधानमन्त्री ओलीले देश बनाउने भन्दा पनि पद चाहियो त्यो पनि नगदमा चाहियो भन्नेहरुले मुलुकलाई समाप्त गर्ने षड्यन्त्रमा लागेको धारणा राख्नुभयो । प्रचण्ड–माधव नेपाललाई इंगित गर्दै पार्टीभित्र बसेर हिजो षड्यन्त्र गर्नेहरु अहिले सडकबाट सोही प्रकारको षड्यन्त्र गरेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।२०७८ साललाई सडक मानवमुक्त मुलुक बनाउने गरी काम गरिरहेको बताउँदै उहाँले कोही भोकै मर्न नपनर्, चिसोले कठ्यांग्रिएर मर्न नपर्ने र लामखुट्टेले टोकेर कोही मर्न नर्पने गरी काम गरिरहेको दाबी गर्नुभयो ।प्रधानमन्त्री ओलीले सबै प्रकारका पीडितलाई सरकारले सहयोग गर्ने र पीडितका परिवारबाट एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने धारणा राख्नुभयो ।

निर्मला हत्या र भागिरथी हत्या काण्डका दोषीलाई विश्वको कुनै कुना वा पानीमुनिबाट ल्याएर भए पनि कारबाही गर्ने प्रधानमन्त्री ओलीले उद्घोष गर्नुभयो । अपराधीलाई जेल हाल्ने भन्दै उहाँले भूमाफिया र अर्काको जग्गा जमिन हडप्नेहरुलाई कानुनी दायरामा ल्याउन सरकार लागिपरेको पनि बताउनुभयो ।कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले नेकपा विभाजन नभई षड्यन्त्रकारी स्वार्थी तत्व चोइटिएर गएको आरोप लगाउनुभयो । उहाँले मुलुकभर भएका विशाल सभामा सहभागिता हुने विशाल जनसागरले पार्टीको अवस्थाको पुष्टि गरेको दाबी गर्नुभयो । पार्टीको वैधानिकता र चुनावचिह्न ओलीले नेतृत्व गरेको नेकपाले नै पाउने स्पष्ट पार्नुभयो । वैशाखको चुनाव दुनियाँका कुनै तागतले रोक्न नसक्ने चेतावनीसमेत उहाँले दिनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रलाई लुम्बिनी प्रदेशको सभाले सन्देश दिएको बताउनुभयो । उहाँले बाटो बिराएर गएका नेतालाई बुटवलको सभाले मूल घरमा फर्कन सन्देश दिएको खुलासा गर्नुभयो ।ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले लुम्बिनी प्रदेशको आमसभाले माधव र प्रचण्ड समूहको ७७ वटै जिल्लाबाट सहभागिता रहेको सभामा भन्दा बढी जनसहभागिता रहेको खुलासा गर्नुभयो ।नेकपा लुम्बिनी प्रदेश कमिटीका संयोजक लिला गिरीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री लेखराज भट्ट पूर्वमन्त्री छविलाल विश्वकर्मा, राधा ज्ञवाली, भूमिश्वर ढकाललगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्