आजदेखि काठमाडौंमा खोप केन्द्र तोकियो



काठमाडौं, (नेस) ।

नेपाल सरकारले कोभिड–१९ रोगको रोकथाम र नियन्त्रणका लागि उच्च जोखिममा रहेका व्यक्तिहरुलाई आज आइतबार बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने भएको छ ।नेपाल सरकारले फागुन २ गतेदेखि ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारीहरु, पत्रकारहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिका साथ पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीलाई दिने जनाएको छ ।

त्यसै गरी सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी, पहिला छुट भएका स्वास्थ्यकर्मी, स्वास्थ्यस्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई लगाउने भएको जनाएको छ ।खोप लगाउनका लागि सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा तोकिएका काठमाडौं जिल्लाका हकमा लक्षित समूहलाई खोप केन्द्र निर्धारण गरेको छ । तोकिएको खोप केन्द्रमा गई आफ्नो कार्यालयको परिचयपत्र वा कार्यालयले प्रमाणित गरेको पत्र देखाई कोरोनाविरुद्धको खोप लिन स्वास्थ्य कार्यालय, काठमाडौंले सूचना जारी गरेको छ ।

खोप लगाउनका लागि तोकिएका खोप केन्द्रहरुमा राष्ट्रिय आयुर्वेद तालिम केन्द्र, कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र अस्पताल, छाउनी, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रसूतिगृह, थापाथली, वीर अस्पताल रत्नपार्क, प्रहरी अस्पताल, लाजिम्पाट, त्रिविवि शिक्षण अस्पताल, महाराजगन्ज, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, नेपाल मेडिकल कलेज अत्तरखेल, गोकर्णेश्वर, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्